काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा दुई मन्त्रीबीच भेटवार्ता भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भेटमा नेपाल र भारतबीचको सुरक्षा सहकार्य थप सुदृढ बनाउने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार अपराध नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापन, पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै गएको बाढीपहिरोपछि भारतले उपलब्ध गराएको समयसापेक्ष सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।
त्यसैगरी, उनले सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोगलाई थप अघि बढाउनुपर्नेमा जोड दिएको राजदूतावासले जनाएको छ ।
नेपाल र भारतबीच सुरक्षा सहकार्य, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यका क्षेत्रमा आपसी समन्वयलाई थप प्रभावकारी बनाउने विषय भेटवार्ताको मुख्य प्राथमिकतामा रहेको थियो ।
