कांग्रेसको पदाधिकारीमा पर्साको पहिलो जित, मधेसमा चौरसियाले तोडे जनकपुरको वर्चस्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री (मधेसी) पदमा पर्साका अजयकुमार चौरसिया निर्वाचित भएका छन्।

एक पदका लागि भएको निर्वाचनमा चौरसियाले आठ जना उम्मेदवारलाई पराजित गर्दै सहमहामन्त्री पदमा विजय हासिल गरेका हुन्। उनले निवर्तमान सहमहामन्त्री महेन्द्र यादव, संसदीय दलका उपनेता अभिषेकप्रताप शाह, किरण यादव, रामपल्टन साह, नगिना यादव, मुक्ताकुमारी यादव र मनिषकुमार मिश्रलाई पराजित गरेका हुन्।

चौरसिया २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता हुन्।

गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनमा भने चौरसिया सहभागी भएका थिएनन्। त्यसपछि गत वैशाखमा उनीसहित १९ जना नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो।

१५औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएसँगै चौरसियाले कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका थप सुदृढ बनाएका छन्।

ताजा अपडेट

Local News