प्रेस स्वतन्त्रतामाथि प्रहार! पत्रकार सरार्फलाई ज्यान मार्ने धम्की

३१ असोज, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको विषयलाई लिएर पत्रकार भरत सरार्फलाई ज्यान मार्ने धम्की दिएको आरोप सार्वजनिक भएपछि प्रेस सेन्टर नेपाल, जिल्ला कार्य समिति पर्साले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

प्रेस सेन्टर पर्साका सचिव अजित कुमार भुजेलले विज्ञप्ति जारी गर्दै न्युज खोज तलाश डटकमका सञ्चालकसमेत रहेका पत्रकार सरार्फलाई निरन्जन अग्रवालले फोनमार्फत ज्यान मार्ने धम्की दिएको भनिएको घटनाको भर्त्सना गरेका हुन्। समाचारमा प्रकाशित विषयप्रति असहमति भए कानुनी उपचार खोज्ने वा प्रेस काउन्सिल नेपालमा उजुरी दिने वैधानिक विकल्प हुँदाहुँदै पत्रकारलाई धम्की दिनु दुःखद्, खेदजनक र निन्दनीय भएको प्रेस सेन्टरले जनाएको छ।

प्रेस सेन्टर नेपाल मधेश प्रदेशका सदस्य तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषद्का सदस्यसमेत रहेका सरार्फमाथि धम्की दिइएको भनिएको घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न समितिले सम्बन्धित निकायसँग माग गरेको छ। समाचारप्रति असहमति जनाउने नाममा पत्रकारलाई त्रसित पार्ने गतिविधिले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि चुनौती खडा गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रेस सेन्टर पर्साले पत्रकारलाई निर्भयतापूर्वक समाचार संकलन तथा सम्प्रेषण गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, पत्रकारमाथि हुने धम्की, दबाब र दुर्व्यवहारका घटनालाई गम्भीरतापूर्वक लिएर प्रेस स्वतन्त्रताको संरक्षण तथा पत्रकारको सुरक्षाका लागि प्रभावकारी कदम चाल्नसमेत समितिले ध्यानाकर्षण गराएको छ।

ताजा अपडेट

Local News