वीरगञ्ज । लामो समयदेखि प्रतीक्षामा रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नति प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत मितेरी पुलदेखि गण्डक चोकसम्मको ८.०५४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी निर्माणका लागि ठेक्का आह्वान गरेको हो ।
कार्यालयले जारी गरेको सूचनाअनुसार निर्माण व्यवसायीहरूले २०८३ कात्तिक २० गते दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने कार्यक्रम रहेको छ । बोलपत्रसम्बन्धी जानकारी तथा निर्माणका सर्तबारे छलफल गर्न कात्तिक ९ गते बिहान ११ बजे प्रि-बिड बैठकसमेत आयोजना गरिने सूचनामा उल्लेख छ ।
दुई खण्डमा विभाजन गरेर ठेक्का
सडक डिभिजन कार्यालयले निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई दुई खण्डमा विभाजन गरेको छ ।
पहिलो खण्डमा मितेरी पुलदेखि घण्टाघरसम्मको चार किलोमिटर सडक समेटिएको छ । यस खण्डका लागि ठेक्का नम्बर TRP/RDHTD/33701130/083/84-26 निर्धारण गरिएको छ । यसको बोलपत्र जमानत रकम ६ करोड रुपैयाँ र बोलपत्र दस्तुर २० हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, दोस्रो खण्डमा घण्टाघरदेखि गण्डक चोकसम्मको ४.०५४ किलोमिटर सडक समेटिएको छ । यसका लागि ठेक्का नम्बर TRP/RDHTD/33701130/083/84-27 कायम गरिएको छ । दोस्रो खण्डको बोलपत्र जमानत रकम ५ करोड ५० लाख रुपैयाँ र दस्तुर २० हजार रुपैयाँ तोकिएको छ ।
दुवै खण्डका लागि कुल ११ करोड ५० लाख रुपैयाँ बोलपत्र जमानत रकम निर्धारण गरिएको छ । यद्यपि, प्रकाशित सूचनामा सडक निर्माण आयोजनाको कुल लागत भने खुलाइएको छैन ।
व्यापारी र स्थानीयवासीमा आशा
वीरगञ्जको प्रमुख व्यापारिक केन्द्र तथा यातायातको मेरुदण्डका रूपमा रहेको मेनरोड लामो समयदेखि विस्तार तथा स्तरोन्नतिको प्रतीक्षामा छ । सडक व्यवस्थित नहुँदा स्थानीयवासी, व्यापारी तथा यात्रुहरूले विभिन्न समस्या भोग्दै आएका छन् ।
मेनरोड विस्तार तथा स्तरोन्नति सम्पन्न भएपछि सवारी आवागमन सहज हुने, ट्राफिक जाम कम हुने, धुलो र धुवाँको समस्या घट्ने तथा शहरको सौन्दर्यमा सुधार आउने अपेक्षा गरिएको छ ।
नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्जमा सडक पूर्वाधार सुधार हुँदा व्यापारिक गतिविधि र आर्थिक कारोबारलाई समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
ठेक्का प्रक्रिया सुरु भएसँगै वीरगञ्जवासीमा सडक निर्माणले गति लिने आशा जागेको छ । अब बोलपत्र प्रक्रिया सम्पन्न भएर निर्माण कार्य कहिलेदेखि स्थलमै सुरु हुन्छ भन्ने विषयमा स्थानीयको चासो बढेको छ ।

