नवरात्रको छैटौँ दिन आज माता कात्यायनीको पूजा गरिँदै

काठमाडौं । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको छैटौँ दिन आज शुक्रबार माता कात्यायनीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ।

नवरात्रका नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा गर्ने परम्पराअनुसार छैटौँ दिन माता कात्यायनीको पूजा गरिन्छ। यस दिन देशभरका घरघरका पूजा कोठा, दसैँघर तथा शक्तिपीठहरूमा देवीको पूजा, ध्यान र आराधना गर्ने गरिन्छ।

धार्मिक विश्वासअनुसार माता कात्यायनीको श्रद्धापूर्वक पूजा–आराधना गर्नाले रोग, शोक, भय, दुःख र दरिद्रता नाश हुनुका साथै जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ। कात्यायनी देवीलाई धर्म, अर्थ, काम र मोक्ष गरी चार पुरुषार्थ प्रदान गर्ने फलदायिनी देवीका रूपमा समेत मानिन्छ।

पौराणिक कथाअनुसार महर्षि कात्यायनले भगवती पराम्बालाई पुत्रीका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेका थिए। उनको तपस्याबाट प्रसन्न भएर देवीले पुत्रीका रूपमा जन्म लिएकाले उनको नाम कात्यायनी रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

अर्को पौराणिक मान्यताअनुसार महिषासुरको अत्याचारबाट त्रिलोकलाई मुक्त गर्न ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट देवी प्रकट भएकी थिइन्। महर्षि कात्यायनले सर्वप्रथम देवीको पूजा गरेका कारण पनि उनलाई कात्यायनी भनिएको विश्वास गरिन्छ। देवीले महिषासुरको वध गरी देवता र मानवलाई आतङ्कबाट मुक्त गराएको धार्मिक कथन छ।

स्वर्णसमान चम्किलो वर्ण भएकी माता कात्यायनी चार हात भएकी स्वरूपमा चित्रण गरिन्छ। उनका दाहिनेतर्फका हात अभय र वरमुद्रामा रहेका छन् भने देब्रे हातमा तरबार र कमलको फूल सुशोभित छन्। सिंहलाई उनको वाहनका रूपमा मानिन्छ।

आजको दिन बिहानै उठेर स्नान गरी शुद्ध वस्त्र धारण गर्ने, पूजास्थल सफा गर्ने र दियो, कलश तथा गणेशको पूजा गरेपछि माता कात्यायनीको आह्वान गर्ने परम्परा छ। देवीलाई रातो फूल, चन्दन, सिन्दूर, पञ्चामृत तथा नैवेद्य अर्पण गरी ‘ॐ देवी कात्यायन्यै नमः’ मन्त्र जप गर्ने र आरती गर्ने चलन छ।

बडादसैँको अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीलगायतका शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको उपस्थिति रहने गरेको छ। उपत्यकाबाहिरका विभिन्न शक्तिपीठ तथा दसैँघरहरूमा पनि देवीको पूजाआराधना गरिँदै छ।

नवरात्रका अवसरमा देवीका विभिन्न स्वरूपको पूजा गर्नाले शक्ति, साहस, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वासका साथ श्रद्धालु भक्तजनहरू पूजाआराधनामा सहभागी हुने गरेका छन्।

ताजा अपडेट

Local News