दसैँ, तिहार र छठ लक्षित सुरक्षा योजना : काठमाडौंमा ३ हजार ५०६ प्रहरी परिचालन

काठमाडौं । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ ।

चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाडपर्वका समयमा बजार, सार्वजनिकस्थल, यातायात केन्द्र तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले चाडपर्व मनाउन घरबाहिर निस्कने, किनमेलका लागि बजार जाने तथा विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

उनका अनुसार चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअन्तर्गत परिचालन गरिएका प्रहरीमध्ये १०० जना सादा पोसाकमा खटिएका छन् । उनीहरूले सार्वजनिकस्थल तथा भीडभाड हुने क्षेत्रमा निगरानी गर्ने, शङ्कास्पद गतिविधिको पहिचान गर्ने र सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुर्‍याउनेछन् ।

प्रहरीले परम्परागत गस्तीका अतिरिक्त प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिएको छ । सुरक्षा निगरानीका लागि सामुदायिक सेवा केन्द्र, ड्रोन क्यामेरा, सामाजिक सञ्जाल तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिएको परिसरले जनाएको छ ।

प्रविधि र जनशक्तिको समन्वयबाट शङ्कास्पद गतिविधिको पहिचान तथा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने प्रहरी उपरीक्षक थापाले बताए ।

चाडपर्वका समयमा सर्वसाधारणको चहलपहल बढ्ने भएकाले सार्वजनिकस्थल, बसपार्क, वित्तीय संस्था तथा तिनका आसपासका क्षेत्र, सरकारी कार्यालय र चाडपर्व लक्षित बजारमा विशेष निगरानी बढाइएको छ । बजार तथा यातायात केन्द्रमा चोरी, पाकेटमारी, ठगी र अन्य अवाञ्छित गतिविधि हुन नदिन प्रहरी टोलीलाई सक्रिय बनाइएको परिसरले जनाएको छ ।

त्यस्तै, वित्तीय संस्था तथा आर्थिक कारोबार हुने क्षेत्रमा पनि सुरक्षा सतर्कता बढाइएको छ । दसैँ तथा तिहारका समयमा किनमेल गर्ने, घर फर्किने र आफन्तकहाँ जाने सर्वसाधारणको सङ्ख्या बढ्ने हुँदा यस्ता क्षेत्रमा सुरक्षा चुनौती बढ्न सक्ने प्रहरीको आकलन छ ।

चाडपर्वको सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन काठमाडौं उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक थापाले बताए । ती सेक्टरमा सम्बन्धित प्रहरी वृत्तका प्रमुखलाई परिचालन गरी सुरक्षा व्यवस्थाको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

सेक्टरगत जिम्मेवारीले सम्बन्धित क्षेत्रमा प्रहरीको उपस्थिति प्रभावकारी बनाउन र घटनाको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गर्न सहज हुने प्रहरीको भनाइ छ ।

यसैबीच, प्रहरीले चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुर्‍याउन सर्वसाधारणलाई पनि सचेत रहन आग्रह गरेको छ । आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सतर्क रहन र शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवसर प्रदान गर्नु विशेष सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ताजा अपडेट

Local News