नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज बुधबार नवदुर्गामध्येकी चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ ।

आश्विन शुक्ल चतुर्थीका दिन घरघरका पूजाकोठा तथा दसैँघरमा कुष्माण्डा देवीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ । पौराणिक मान्यताअनुसार भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीनै प्रकारका ताप तथा दुःख–कष्ट हरण गर्ने शक्ति भएकी देवीलाई कुष्माण्डा भनिएको हो ।

धार्मिक ग्रन्थहरूमा ब्रह्माण्ड उत्पन्न गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको उल्लेख छ । दुर्गा सप्तशती (चण्डी) को देवी कवचअनुसार त्रिविध तापयुक्त संसारलाई आफ्नो उदरमा समाहित गर्ने भगवती नै कुष्माण्डा हुन् ।

कुष्माण्डा देवीको श्रद्धापूर्वक पूजा–आराधना र ध्यान गर्नाले सुख, शान्ति, ऐश्वर्य, विद्या तथा आरोग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

गत असोज २५ गते घटस्थापना गरी जमरा राखिएसँगै सुरु भएको नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा–आराधना गरिएको थियो । आज चौथो दिन कुष्माण्डा देवीको आह्वान गरी विशेष पूजा गरिँदै छ ।

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरूको पाठ तथा पारायण गर्ने परम्परा छ ।

दसैँको चौथो दिन आज काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, बज्रयोगिनी, विजेश्वरी, कङ्केश्वरी र कलङ्कीमाईलगायत प्रमुख मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

त्यसैगरी, उपत्यकाबाहिरका प्रसिद्ध शक्तिपीठहरू काभ्रेको पलाञ्चोक भगवती र नाला भगवती, गोरखाको मनकामना, चितवनको इच्छाकामना, धनुषाको छिन्नमस्ता, बाराको गढीमाई, पर्साको वीरगञ्जस्थित गहवामाई, बागलुङ कालिका, कास्कीको विन्ध्यवासिनी तथा तालबाराही मन्दिरमा पनि भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

नवरात्रका अवसरमा देशभरका देवी मन्दिरमा पूजाआराधना, दर्शन तथा धार्मिक अनुष्ठान गर्ने भक्तजनको चहलपहल बढेको छ ।

ताजा अपडेट

Local News