राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई एक महिलासँगको भनिएको आपत्तिजनक संवादको अडियो सार्वजनिक भएपछि निलम्बन गरेको छ। पार्टीले उक्त प्रकरणमा आन्तरिक छानबिन अघि बढाउँदै छानबिनको निष्कर्ष नआएसम्मका लागि उनलाई सार्वजनिक पदीय जिम्मेवारीबाट अलग गरेको हो।
बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सुनार रास्वपाका केन्द्रीय सदस्यसमेत हुन्। सार्वजनिक भएको अडियो प्रकरणलाई लिएर पार्टीले छानबिन प्रक्रिया अघि बढाएको र त्यसको टुंगो नलागेसम्म उनलाई पार्टीका तर्फबाट निर्वाह गर्दै आएका जिम्मेवारीमा रोक लगाएको जनाइएको छ।
रास्वपाका महामन्त्री विपीन आचार्यले छानबिन निष्कर्षमा नपुग्दासम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन सांसद सुनारलाई निर्देशन दिएका छन्। यस अवधिमा सुनारले रास्वपाको नेता वा सांसदको हैसियतमा पार्टीका औपचारिक कार्यक्रमहरूमा समेत सहभागी हुन पाउने छैनन्।
यसैबीच, ‘हामी आउँदैछौँ’ अभियानका क्रममा दाङमा रहेका सांसद सुनार सहभागी हुने गरी घोराहीमा आजका लागि तय गरिएको कार्यक्रम स्थगित गरिएको छ।
पार्टीले अघि बढाएको आन्तरिक छानबिनबाट प्रकरणबारे के निष्कर्ष निस्कन्छ भन्ने विषय अब चासोको केन्द्र बनेको छ। छानबिनको निष्कर्षपछि पार्टीले थप निर्णय लिन सक्नेछ।
