काठमाडौं । बूढानीलकण्ठबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ। सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले सुन र पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको जानकारी दिए।
भन्सार कार्यालयमा पठाइए पनि सुन तस्करीको सञ्जाल पत्ता लगाउन प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान जारी राखेको छ। घटनासँग सम्बन्धित सबै पक्षलाई समेटेर अनुसन्धान टोली परिचालन गरिएको एसएसपी खड्काले बताए।
गत असोज २२ गते अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठ नगरपालिका–स्थित माथिल्लो भंगालको एक घरबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको थियो। बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेको सुन बरामद गरेको थियो।
सुनसहित पक्राउ पर्नेमा चीनको जियाङ्सु–ग्वाङडोङ क्षेत्रका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले माथिल्लो भंगालमा एउटा सिंगो घर भाडामा लिएर सुन प्रशोधन गर्ने कारखाना सञ्चालन गरेको आरोप छ। बरामद सुन हवाई मार्ग हुँदै नेपाल भित्रिएको हुन सक्ने प्रहरीको आशंका छ।
प्रहरीले सुन नेपाल भित्र्याउने माध्यम, यसमा संलग्न अन्य व्यक्ति तथा सम्भावित सञ्जालबारे अनुसन्धान गरिरहेको जनाएको छ।
