काठमाडौं । बडादशैं नजिकिएसँगै राजधानी काठमाडौंको नयाँ बसपार्कबाट घर फर्किने यात्रुको चाप बढेको छ। दशैं मनाउन अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बस्दै आएका मानिसहरू धमाधम गाउँ फर्किरहेका छन्।
यात्रुको चाप बढेसँगै नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा चहलपहल बढेको छ।
नयाँ बसपार्क सञ्चालक संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नौ दिनको अवधिमा नयाँ बसपार्कबाट दुई लाख सात हजार २५१ जना यात्रु बाहिरिएका छन्।
उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार १२३, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० जनाले नयाँ बसपार्कबाट यात्रा गरेका छन्।
तथ्यांकअनुसार असोज २३ गते सबैभन्दा बढी ३१ हजार १२३ जना यात्रु नयाँ बसपार्कबाट बाहिरिएका थिए।
दशैंमा घर फर्किने यात्रुको संख्या बढ्दै जाँदा यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको खराब अवस्थाले यातायात व्यवस्थापन थप जटिल बनेको बताए।
गत असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरिएको पहिलो दिनमै धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारीसाधनको आवागमन अवरुद्ध भएको थियो। यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यात्रु व्यवस्थापनमा समस्या उत्पन्न भएको गौतमले जानकारी दिए।
यसैबीच, महासंघले यात्रुहरूलाई आधिकारिक टिकट काटेर मात्रै यात्रा गर्न, सरकारले तोकेको मापदण्डअनुसारको भाडा मात्र तिर्न र आफू चढ्ने सवारीसाधनको प्राविधिक अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
दशैं परिवार तथा आफन्तसँग भेटघाट गरी मनाउने प्रमुख पर्व भएकाले रोजगारी, अध्ययन र व्यवसायका क्रममा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू हरेक वर्षजस्तै यस वर्ष पनि चाडपर्व मनाउन घर फर्किने क्रम बढेको छ।
