रास्वपा सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध भेदभावको मुद्दा दर्ता

बारा। बारा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दन कुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ।

उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासको परमादेशपछि जिल्ला प्रहरी कार्यालय बारामा गत असोज ६ गते मुद्दा दर्ता गरिएको हो।

देवताल गाउँपालिका–५ निवासी ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा सांसद सिंहसहित १४ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए।

एसपी कुँवरका अनुसार यसअघि पनि मुद्दा दर्ताका लागि प्रयास भए पनि दर्ता हुन सकेको थिएन। उच्च अदालतको परमादेशपछि मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको उनले बताए। उनका अनुसार हालसम्म कसैविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन।

के हो आरोप ?

देवताल गाउँपालिकामा सुपरभाइजर पदमा कार्यरत महतोले समाजमा भइरहेका गलत गतिविधिको विरोध गरेका कारण २७ कात्तिक २०८१ मा आफूलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरिएको जाहेरीमा दाबी गरेका छन्।

जाहेरीअनुसार गाउँमा विकाससम्बन्धी काममा अवरोध गरिएको र त्यसको विरोध गर्दै विकासका काम अघि बढाउन पहल गरेपछि सिंहसहितका व्यक्तिहरूले आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने निर्णय गरेको आरोप महतोले लगाएका छन्।

उनले आफू तथा परिवारका सदस्यलाई विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन नदिने, सार्वजनिक तथा धार्मिक स्थलमा समेत बहिष्कार गर्न लगाउने र गाउँघरमा आफ्नो चरित्र तथा प्रतिष्ठामा असर पर्ने गरी प्रचार–प्रसार गर्ने गरिएको दाबी गरेका छन्।

महतोले आफूविरुद्ध दलित, गरिब, विपन्न तथा अल्पसंख्यक समुदायका मानिसलाई पैसा तथा अन्य प्रलोभन दिएर प्रयोग गरिएको आरोपसमेत जाहेरीमा उल्लेख गरेका छन्।

यस्ता गतिविधिका कारण आफ्नो व्यक्तिगत चरित्र, आचरण तथा सामाजिक प्रतिष्ठामा असर परेको र आफू तथा परिवारले अपहेलना तथा अपमान सहनुपरेको उनको दाबी छ।

जाहेरीमा घटनासँग सम्बन्धित प्रमाणका रूपमा विपक्षीहरूले गरेको निर्णयको फोटोकपीसमेत संलग्न गरिएको छ। महतोले आवश्यक अनुसन्धान तथा सरजमिन गरी घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

मुद्दामा सांसद सिंहसहित रामबाबु प्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पासवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतो प्रतिवादी छन्।

सिंह २०७४ सालमा तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट देवताल गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच एकीकरणपछि उनी निर्वाचनको समयमा रास्वपामा प्रवेश गरी बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

ताजा अपडेट

Local News