वीरगञ्ज महानगरमा हलचल : नागरिकता विवादमा अख्तियारको प्रहार, मेयरसहित ७ जनाविरुद्ध मुद्दा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ।

आयोगले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकासँग सम्बन्धित नागरिकता प्रकरणमा गलत लिखत तयार गर्ने, सरकारी कागजात सच्याउने, सरकारी अभिलेखमा हानी–नोक्सानी पुर्‍याउने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचारजन्य कार्य गरेको आरोपमा उनीहरूमाथि आरोपपत्र दायर गरिएको हो।

अख्तियारका अनुसार अनुसन्धानका क्रममा नगर प्रमुख सिंहले गलत विवरण पेश गरी एक महिलाकी छोरीलाई आफ्नी छोरी ‘रुबीना श्रेष्ठ’ का रूपमा देखाई नागरिकताको प्रमाणपत्र दिलाएको भन्ने विषयमा उजुरी प्राप्त भएको थियो। सोही उजुरीमाथि विस्तृत अनुसन्धानपछि संलग्न देखिएका सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, मुद्दा गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा झुट्टा प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको कसुरसँग सम्बन्धित रहेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ।

यो प्रकरण सार्वजनिक भएसँगै वीरगञ्जको राजनीतिक तथा प्रशासनिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। विशेष अदालतमा मुद्दा दायर भएसँगै अब अदालतको अन्तिम निर्णयले यस घटनाको कानुनी निष्कर्ष तय गर्नेछ।

ताजा अपडेट

Local News