महँगीविरुद्ध उपभोक्ता मञ्चको चेतावनी: बजार अराजकता नियन्त्रण गर्न तत्काल हस्तक्षेपको माग

वीरगञ्ज, पर्सा।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले पछिल्लो समय बढ्दो महँगी र बजारमा देखिएको अव्यवस्थित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। मञ्चले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा इन्धनको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य अस्वाभाविक रूपमा वृद्धि भइरहेको उल्लेख गर्दै यसले सर्वसाधारणको जीवनयापन कठिन बन्दै गएको जनाएको छ।

विज्ञप्तिअनुसार खाद्यान्न, इन्धन, यातायात लगायत आधारभूत आवश्यकतासँग सम्बन्धित वस्तु तथा सेवाको मूल्य निरन्तर उकालो लाग्दा विशेषगरी न्यून आय भएका तथा मध्यमवर्गीय परिवार सबैभन्दा बढी मारमा परेका छन्। मञ्चले यस्तो अवस्था दीर्घकालीन रूपमा सामाजिक र आर्थिक असन्तुलन निम्त्याउन सक्ने चेतावनीसमेत दिएको छ।

मञ्चले बजार अनुगमन कमजोर हुँदा कालोबजारी, कृत्रिम अभाव सिर्जना तथा मनपरी मूल्य निर्धारणजस्ता गतिविधि बढ्दै गएको आरोप लगाएको छ। नियामक निकाय र प्रशासनको प्रभावकारी भूमिका नदेखिँदा बजारमा अराजकता फैलिएको भन्दै तत्काल कडाइका साथ हस्तक्षेप गर्न माग गरिएको छ।

प्रेस विज्ञप्तिमार्फत मञ्चले विभिन्न पाँच बुँदे माग सार्वजनिक गर्दै बजार सुधारका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको छ। सडक विस्तारका क्रममा पर्याप्त समय नदिई घर तथा टहरा हटाउने कार्यप्रति पनि मञ्चले आपत्ति जनाएको छ। यसले सर्वसाधारणलाई थप समस्यामा पारेको उल्लेख गरिएको छ।

त्यसैगरी सीमा नाकामा कडाइ, आपूर्ति व्यवस्थापनमा कमजोरी तथा बजारमा कृत्रिम अभावका कारण महँगी अझ चर्किएको मञ्चको भनाइ छ। प्रशासनको निष्क्रियताले यस्तो अवस्था सिर्जना भएको आरोपसमेत विज्ञप्तिमा लगाइएको छ।

खसीको मासुको मूल्य प्रतिकिलो १ हजारबाट १ हजार २ सय रुपैयाँ पुर्‍याइनुको आधारबारे स्पष्ट पार्न मञ्चले सम्बन्धित निकायसँग प्रश्न उठाएको छ। व्यवसायी संघको नाममा उपभोक्तामाथि अन्याय हुन नदिन कडाइका साथ नियमन गर्नुपर्नेमा जोड दिइएको छ।

यसैबीच मुख्य सडक बाहेकका क्षेत्रमा समेत घरधनीहरूले अत्यधिक सटर भाडा र पेश्की असुलिरहेको अवस्थाप्रति मञ्चले गम्भीर आपत्ति जनाएको छ। यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्न स्थानीय सरकारसँग माग गरिएको छ।

मञ्चले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्ता मैत्री बनाउन सरोकारवाला निकायहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै प्रभावकारी अनुगमन, मूल्य नियन्त्रण तथा उपभोक्ता अधिकारको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

उक्त विज्ञप्तिमा मञ्चका केन्द्रीय सदस्य अजित कुमार भुजेलको हस्ताक्षर रहेको छ।

ताजा अपडेट

Local News