वीरगञ्ज । नेपाल पत्रकार महासंघ अन्तर्गतको नेपाल पत्रकार महासंघ पर्सा शाखा मा देखिएको सदस्यता शुद्धीकरणसम्बन्धी विवाद थप पेचिलो बनेको छ। शाखाले निवर्तमान अध्यक्ष अनुप तिवारी लाई तीन दिनभित्र शाखासम्बन्धी सम्पूर्ण आधिकारिक कागजात, निर्णय पुस्तिका (माइनुट), आर्थिक हरहिसाब तथा अन्य प्रशासनिक विवरण उपलब्ध गराउन औपचारिक पत्र पठाएको छ। निर्धारित समयभित्र कागजात पेश नगरिए नियमानुसार कारवाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत पत्रमार्फत दिइएको छ।
सदस्यता शुद्धीकरणको माग गर्दै सक्रिय बनेका तिवारी नेतृत्वको संघर्ष समितिले केही दिनअघि वर्तमान शाखा नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै तीन दिने अल्टिमेटम दिएको थियो। समितिले विगतमा वितरण गरिएका सदस्यतामाथि पुनरावलोकन गरी शुद्धीकरण प्रक्रिया तत्काल सुरु गर्न माग गरेको थियो। तर अल्टिमेटमको समयसीमा सकिनै लाग्दा शाखाले उल्टै तिवारीसँगै तत्कालीन नेतृत्वबाट पुराना निर्णय, सदस्यता वितरण प्रक्रिया र संस्थागत अभिलेख माग्दै पत्राचार गरेको हो।
शाखाको भनाइअनुसार सदस्यता शुद्धीकरणजस्तो संवेदनशील प्रक्रिया अघि बढाउन तत्कालीन कार्यसमितिले कुन आधार र प्रक्रिया पूरा गरेर सदस्यता वितरण गरेको थियो भन्ने तथ्य अध्ययन गर्न आवश्यक छ। त्यसका लागि तत्कालीन बैठकका माइनुट, निर्णय पुस्तिका, सदस्यता सम्बन्धी अभिलेख र प्रशासनिक कागजात अपरिहार्य रहेको शाखाको तर्क छ।
शाखाका सचिव विजयकुमार महतो द्वारा पठाइएको पत्रमा नयाँ कार्यसमितिलाई हालसम्म पूर्व नेतृत्वले कुनै पनि आधिकारिक दस्तावेज हस्तान्तरण नगरेको उल्लेख गरिएको छ। पत्रमा संस्थागत निर्णयसम्बन्धी अभिलेख अभाव हुँदा दैनिक प्रशासनिक कामकाजदेखि सदस्यता व्यवस्थापनसम्मका विषय प्रभावित भइरहेको उल्लेख गरिएको छ। शाखाले उक्त पत्रको बोधार्थ केन्द्रीय समिति तथा मधेश प्रदेश समितिलाई समेत पठाएको जनाएको छ।
विवादको अर्को महत्वपूर्ण पक्ष आर्थिक विवरणसँग जोडिएको छ। शाखाका अनुसार २०८१ पुस ३ गते बसेको पहिलो बैठकले तत्कालीन कोषाध्यक्षसमेत रहेका सञ्जीव कुमार मिश्र लाई सम्पूर्ण आर्थिक हरहिसाब, चलअचल सम्पत्तिको लगत तथा वित्तीय विवरण ३० दिनभित्र पेश गर्न जिम्मेवारी दिएको थियो। तर शाखाको दाबीअनुसार ५१८ दिन बितिसक्दा पनि ती विवरण उपलब्ध गराइएको छैन। यस विषयमा तत्कालीन अध्यक्ष तिवारीसहित जिम्मेवार पदाधिकारीलाई पटक–पटक आग्रह गरिए पनि आवश्यक कागजात बुझाउन आनाकानी भइरहेको आरोप शाखाले लगाएको छ।
पछिल्लो अधिवेशनमा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवार बनेका तिवारी निर्वाचनमा पराजित भएपछि सदस्यता शुद्धीकरणको मुद्दा थप चर्किएको देखिन्छ। तिवारी नेतृत्वको संघर्ष समितिले विगतमा वितरण गरिएका सदस्यतामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आएको छ भने वर्तमान नेतृत्वले प्रक्रिया अघि बढाउन पहिले सबै संस्थागत अभिलेख र निर्णय कागजात प्राप्त हुनुपर्ने अडान राखेको छ।
महासंघ पर्सा शाखाले जारी गरेको पत्रमा संस्थागत पारदर्शिता र अभिलेख व्यवस्थापनलाई प्राथमिकता दिँदै सदस्यता शुद्धीकरण प्रक्रिया तथ्य, प्रमाण र आधिकारिक दस्तावेजका आधारमा मात्र अघि बढाइने स्पष्ट संकेत गरेको छ। शाखाले तीन दिनभित्र सम्पूर्ण कागजात कार्यालयमा बुझाउन आग्रह गर्दै अन्यथा विधान र नियमअनुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाइने चेतावनी दोहोर्याएको छ।
