पर्सा, १४ वैशाख
भन्सार प्रक्रिया छली गरी नेपाल भित्र्याइएका भारतीय इलेक्ट्रिक स्कुटरहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले विभिन्न मितिमा सञ्चालनमा रहेका २४ वटा स्कुटर बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार ती स्कुटरहरू वीरगञ्ज महानगरपालिका तथा आसपासका ग्रामीण क्षेत्रहरूमा अनाधिकृत रूपमा प्रयोग भइरहेको अवस्थामा फेला पारिएका हुन्। नियन्त्रणमा लिइएका स्कुटरहरूको कुल अनुमानित मूल्य करिब १९ लाख २० हजार रुपैयाँ रहेको बताइएको छ।
प्रहरीले ती सवारी साधनहरू आवश्यक कागजात बिना सञ्चालनमा रहेको आशंकामा नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट ती स्कुटरहरू भन्सार छली गरी नेपाल भित्र्याइएको देखिएको प्रहरीको भनाइ छ।
बरामद गरिएका सबै स्कुटरहरू थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन २०८३ साल वैशाख १४ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। अब भन्सार कार्यालयमार्फत आवश्यक छानबिन र कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले भन्सार छली तथा अवैध रूपमा सञ्चालन हुने सवारी साधनमाथि निगरानी अझ कडा बनाइएको जानकारी दिए। उनले यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा परिचालित रहेको र आगामी दिनमा पनि यस्तो अभियान निरन्तर सञ्चालन हुने स्पष्ट पारे।
प्रहरीले सर्वसाधारणलाई कानुनी प्रक्रिया पूरा गरी मात्र सवारी साधन खरिद तथा प्रयोग गर्न आग्रह गर्दै अवैध गतिविधिमा संलग्न नहुन चेतावनीसमेत दिएको छ।
