वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखामा सदस्यता शुद्धीकरणको विषयलाई लिएर देखिएको विवादले नयाँ मोड लिएको छ । शाखाले ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’को नाममा शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई संस्थाको गरिमामाथिको प्रत्यक्ष प्रहार भएको जनाएको छ ।
महासंघ पर्सा शाखाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको तालाबन्दीको गतिविधि दुःखद, आपत्तिजनक तथा पर्सेली पत्रकारिताको एकता र साखमा आघात पुग्ने खालको रहेको उल्लेख गरेको हो ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघ, पर्सा शाखा कुनै व्यक्ति वा समूह विशेषको संस्था नभई पर्साका सम्पूर्ण सञ्चारकर्मीहरूको साझा संस्था भएको उल्लेख गर्दै सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहेको समयमा औपचारिक जानकारीबिनै ताला लगाइनु गैरजिम्मेवार गतिविधि भएको जनाइएको छ ।
महासंघले सदस्यता शुद्धीकरणको विषयमा आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै शुद्धीकरण प्रक्रिया व्यक्तिगत आग्रह, दबाब वा आवेगका आधारमा नभई संस्थाको विधि, विधान तथा विगतका निर्णयहरूको अध्ययन र सहमतिका आधारमा मात्रै अगाडि बढ्नुपर्ने जनाएको छ ।
यसैक्रममा शाखाले तत्कालीन अध्यक्ष अनुप तिवारीलाई २०८३ जेठ ७ गते औपचारिक पत्राचार गर्दै तीन दिनभित्र निर्णय पुस्तिका, सदस्यताको अभिलेख, आर्थिक हरहिसाबलगायत सम्पूर्ण आवश्यक कागजात बुझाउन आग्रह गरिएको जानकारी दिएको छ । तर, कागजात उपलब्ध गराएर प्रक्रिया सहज बनाउनुपर्नेमा उल्टै तिवारीकै नेतृत्वमा शाखा कार्यालयमा तालाबन्दी गरिनु दुःखद मात्रै नभई नियतमाथि प्रश्न उठाउने विषय भएको महासंघको भनाइ छ ।
महासंघले वर्तमान शाखामा कायम सदस्यता निवर्तमान नेतृत्वकै कार्यकालमा कायम भएको उल्लेख गर्दै त्यही सदस्यहरूको मताधिकारबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा हालसम्म निर्णय पुस्तिका, आर्थिक विवरण तथा अन्य अभिलेख हस्तान्तरण नगरिनु चिन्ताजनक भएको जनाएको छ ।
विज्ञप्तिमा कार्यसमितिको पदस्थापनकै दिन निर्णय पुस्तिका हस्तान्तरण नगरिएको, पटक–पटक आग्रह गर्दा पनि विभिन्न बहाना बनाइएको, पहिलो बैठकले ३० दिनभित्र हरहिसाब बुझाउने निर्णय गरे पनि त्यसलाई बेवास्ता गरिएको तथा साधारणसभा गर्ने तयारी भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गतिविधि भइरहेको आरोप लगाइएको छ ।
त्यस्तै, “हरहिसाब साधारणसभामै बुझाउँछौं” भन्दै बलमिच्याइँ गरिएको, साधारणसभाको मिति तय गर्न बैठक बोलाउँदा समेत बारम्बार अवरोध सिर्जना भएको उल्लेख गर्दै महासंघले शुद्धीकरणको नाममा संस्थालाई अन्योल र असहजतामा राख्ने प्रयास भइरहेको ठहर गरेको छ ।
महासंघ पर्सा शाखाले निर्णय पुस्तिकासहित सम्पूर्ण आर्थिक तथा प्रशासनिक अभिलेख तत्काल शाखालाई बुझाउन, सदस्यता शुद्धीकरण प्रक्रियामा सहयोग गर्न तथा शाखा कार्यालयमा लगाइएको तालाबन्दी तत्काल खोल्न पुनः आग्रह गरेको छ ।
साथै शाखाले आफू सधैं संवाद, सहकार्य र संस्थाको हितमा उभिएको जनाउँदै संस्थाको गरिमा, पत्रकारहरूको साझा प्रतिष्ठा तथा कानूनी अधिकारमाथि निरन्तर प्रहार भइरहे आवश्यक कानूनी उपचारको बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
