स्वास्थ्य क्षेत्रमा ठूलो सफाइ अभियान: अस्पताल विकास समितिका अध्यक्ष र सदस्यहरूको पद धरापमा

काठमाडौं । पुराना सरकारको पालामा गठन आदेशमार्फत नियुक्त भएका अस्पताल विकास समितिका अध्यक्ष तथा सदस्यहरूलाई हटाउने तयारी सरकारले तीव्र बनाएको छ। प्रधानमन्त्रीको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पताल विकास समितिमा कार्यरत पदाधिकारीहरूको नियुक्ति खारेज गर्ने प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ।

सरकार परिवर्तनपछि पनि पदमा कायम रहेका राजनीतिक नियुक्तिका पदाधिकारीहरूलाई राजीनामा दिन अनौपचारिक दबाब दिइए पनि धेरैले पद नछोडेपछि अब औपचारिक रूपमा पदमुक्त गर्ने तयारी थालिएको बताइएको छ। केही पदाधिकारी भने सम्मानजनक बहिर्गमनको बाटो रोज्दै राजीनामा दिन थालेका छन्।

यसैबीच धुंडीराज पौडेलले भरतपुर अस्पताल विकास समिति अध्यक्ष पदबाट राजीनामा दिएका छन्। तर अन्य धेरै पदाधिकारी भने पदमुक्तिको पत्र पर्खेर बसिरहेको चर्चा स्वास्थ्य क्षेत्रमा चलिरहेको छ। कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष श्रीराम सुबेदी लगायतका पदाधिकारी अझै पदमै रहेका छन्।

पदमुक्तिको सूचीमा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिराज कुमार गुप्ता, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा लगायत रहेका छन्। उनीहरू सबै राजनीतिक आधारमा नियुक्त भएको आरोप खेपिरहेका छन्।

त्यस्तै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. पशुपति चौधरी, जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका अध्यक्ष दीपेन्द्र रमण सिंह, कोशी अस्पताल विकास समितिका अध्यक्ष फारवर्ड सिलवाल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिकी अध्यक्ष डा. सरोजा कर्की पाण्डे तथा अङ्ग प्रत्यारोपण समन्वय समितिका अध्यक्ष डा. पुकार चन्द्र श्रेष्ठ पनि पदमुक्तिको तयारीमा परेका छन्।

सरकारको यो कदम अध्यक्षहरूमा मात्र सीमित छैन। विभिन्न अस्पताल विकास समितिका सदस्यहरूको पद पनि जोखिममा परेको छ। कान्ति बाल अस्पतालका सदस्य पञ्चकुमारी श्रेष्ठ र भगवान कार्की, कोशी अस्पताल विकास समितिका सदस्य किशोरकुमार पाण्डे, हरिप्रसाद भट्टराई तथा डा. ज्योति कार्की, नारायणी अस्पताल विकास समितिका सदस्य किरण कुमारी र अक्षय कुमार झा लगायत पदमुक्त हुन सक्ने सूचीमा छन्।

त्यसैगरी भरतपुर अस्पताल विकास समितिका सदस्य प्रनिशा गुरुङ र डिल्लीराम लामिछाने, भेरी अस्पताल विकास समितिका सदस्य समिरकुमार गुरुङ र किरण पौडेल तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका सदस्यहरू दिनेश कुमार विक, रश्मी पुन, डा. रिता महासेठ, डा. अनिल विक्रम कार्की, दिलिप पौडेल र शिला देवी अधिकारीको पद पनि धरापमा परेको बताइएको छ।

जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका सदस्य पदमप्रसाद दुवाडी, रामकुमार भण्डारी, पानबहादुर घर्ती, भक्तपुर क्यान्सर अस्पताल विकास समितिका सदस्य अभिमन्यु झा तथा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका सदस्य डा. वीरेन्द्रप्रसाद यादव पनि पदमुक्तिको संघारमा पुगेका छन्।

स्वास्थ्य क्षेत्रका विभिन्न समितिमा गरिएको राजनीतिक नियुक्तिमाथि नयाँ सरकारले पुनरावलोकन थालेसँगै आगामी दिनमा थप पदाधिकारीहरू हटाइने सम्भावना रहेको स्रोतको दाबी छ।

ताजा अपडेट

Local News