वीरगञ्ज । पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सा ले वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार आज मिति २०८२ फागुन ११ गते बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो।
हिजो रातिको झडपपछि कडा निर्णय
हिजो राति दुई पक्षबीच भएको विवादले उग्र रूप लिँदै झडपको अवस्था सिर्जना भएपछि सम्भावित थप अप्रिय घटना हुन नदिन प्रशासनले कर्फ्यू लगाएको जनाएको छ। प्रशासनका अनुसार उक्त घटनाले स्थानीय स्तरमा तनाव उत्पन्न गराएको थियो र परिस्थिति नियन्त्रणबाहिर जान नदिन समयमै कदम चालिएको हो।
चार किल्ला तोकियो
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशमा महानगरपालिका क्षेत्रभित्र निम्न सीमाना तोकिएको छ—
• पूर्व: बाइपास रोड
• पश्चिम: सिर्सिया नदी
• उत्तर: गण्डक चौक
• दक्षिण: शंकराचार्य गेट
उक्त चार किल्लाभित्र कसैले पनि आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
अत्यावश्यक सेवामा सहजीकरण
कर्फ्यू अवधिभर निम्न सेवाहरूलाई भने सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ—
• एम्बुलेन्स
• दमकल
• शव वाहन
• स्वास्थ्यकर्मीका सवारी साधन
• सञ्चारकर्मी
• विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा कर्मचारी
• पर्यटक सवारी साधन
• मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन
• हवाई टिकटका आधारमा यात्रा गर्ने हवाई यात्रु
यी सवारी साधनहरूको आवागमनमा सुरक्षाकर्मीहरूले आवश्यक सहजीकरण गर्ने जनाइएको छ।
प्रशासनको अपिल
प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न, अनावश्यक अफवाह नफैलाउन तथा शान्ति–सुरक्षा कायम गर्न सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेको छ।
स्थिति सामान्य नभएसम्म कर्फ्यू कायम रहने जनाइएको छ।
