वीरगञ्ज महानगरद्वारा लामखुट्टे नियन्त्रण अभियान सुरु, ‘पम्प स्प्रे’ मार्फत विषादी छर्किँदै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शहरमा बढ्दो लामखुट्टेको समस्या नियन्त्रण गर्न ‘पम्प स्प्रे’ प्रणालीमार्फत विषादी छर्किने अभियान सुरु गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया लगायतका घातक रोगको जोखिम कम गर्न यो अभियान सञ्चालन गरिएको हो।

चिसो मौसम बिस्तारै सकिँदै गर्मी बढ्न थालेसँगै लामखुट्टेको संख्या तीव्र रूपमा वृद्धि हुन थालेपछि महानगरपालिकाले समयमै रोकथामका उपाय अपनाएको जनाएको छ।

बिहीबारदेखि सुरु भएको अभियान अन्तर्गत दोस्रो दिन घण्टाघरदेखि पावरहाउस चोकसम्मका मुख्य नालाहरू तथा पानी जम्ने स्थानहरूमा विषादी छर्किने कार्यलाई प्राथमिकता दिइएको थियो।

महानगर प्रमुखको निर्देशनअनुसार बिहान १० बजेदेखि नै विषादी मिश्रित घोल तयार गरी नाला र जल जम्ने क्षेत्रहरूमा छर्किने कार्य भइरहेको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले जानकारी दिनुभयो।

उहाँका अनुसार वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा नियमित रूपमा लामखुट्टे नियन्त्रणका लागि दैनिक विषादी छर्किने कार्य जारी रहेको छ।

वीरगञ्जमा विशेषगरी चिसो र गर्मी मौसमको समयमा लामखुट्टेको प्रकोप अत्यधिक देखिने भएकाले महानगरपालिकाले वर्षमा दुई पटक नियमित अभियान सञ्चालन गर्दै आएको बताइएको छ।

ताजा अपडेट

Local News