उद्यमीबाट राजनीतिमा रुपेश पाण्डे : पर्सा–३ मा एमालेको नयाँ आशा

वीरगञ्ज, २७ माघ
पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा नेकपा एमालेले यसपटक नयाँ अनुहारलाई उम्मेदवारका रूपमा अघि सारेको छ। तीमध्ये सबैभन्दा चर्चित नाम बनेका छन् युवा उद्यमी रुपेश कुमार पाण्डे। पाण्डे प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन्। व्यवसायिक सफलताबाट राजनीतिक यात्रामा प्रवेश गरेका उनको उम्मेदवारीलाई स्थानीयस्तरमा नयाँ विकल्प र आशाको रूपमा हेरिएको छ।

रुपेश पाण्डेको परिवार राजनीति क्षेत्रमा पहिलेदेखि नै सक्रिय रहँदै आएको छ। उनका पिता बृजमोहन पाण्डे २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट पकहाँमैनपुर गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष निर्वाचित भएका थिए। यद्यपि पारिवारिक राजनीतिक पृष्ठभूमि हुँदाहुँदै पनि रुपेश स्वयं भने लामो समयसम्म राजनीतिप्रति खासै आकर्षित थिएनन्। उनी आफ्नो व्यवसायिक यात्रामै केन्द्रित थिए र काठमाडौंमा उद्यमशीलताको क्षेत्रमा सफल पहिचान बनाइसकेका थिए।

काठमाडौंस्थित आरपी ग्रुप अफ कम्पनीज का प्रबन्ध निर्देशक पाण्डे नेपालमा दर्जनौं अन्तर्राष्ट्रिय ब्रान्डका कपडा, जुत्ता तथा एक्सेसरीज आयात–वितरण व्यवसायमा स्थापित नाम हुन्। राजधानीमा व्यस्त र सफल जीवन बिताइरहेका उनी राजनीतिक वृत्तभन्दा टाढै थिए। तर पर्सा–३ को राजनीतिक अवस्था निराशाजनक बन्दै गएपछि उनको सोच परिवर्तन हुन थाल्यो। यसअघिका दुई निर्वाचनमा निर्वाचित सांसदहरू भ्रष्टाचारको आरोपमा विवादमा तानिएर कार्यकाल पूरा गर्न नसक्दा जनतामा निराशा फैलिएको थियो र विकास निर्माणका योजनाहरू अलपत्र परेका थिए।

पुख्र्यौली गाउँघर फर्कँदा रुपेशले स्थानीय जनतामा गहिरो पीडा र निराशा देखे। सडक, शिक्षा, स्वास्थ्य, सिंचाइ जस्ता आधारभूत विषयमा समस्या बढ्दै गएको थियो। जनताको आवाज सुन्ने र समस्या समाधानमा सक्रिय रहने जनप्रतिनिधिको अभाव स्पष्ट थियो। यही अवस्थाले उनलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गर्‍यो। उनले काठमाडौंको व्यावसायिक व्यस्तता कम गर्दै गाउँमै बढी समय दिन थाले र गाउँ–गाउँ डुल्दै नागरिकसँग प्रत्यक्ष संवाद गरेर समस्या टिपोट गर्न थाले।

चुनाव लड्ने निर्णय गरेपछि दल छनोटमा केही समय अन्योल रहे पनि अन्ततः उनले माघ ४ गते नेकपा एमाले रोजे र गुण्डु निवास पुगेर अध्यक्ष केपी शर्मा ओलीबाट टिकट प्राप्त गरे। माघ ६ गते मनोनयन दर्ता गरेपछि उनी पूर्ण रूपमा चुनावी प्रचारमा होमिएका छन्। मतदातासँगको भेटमा उनले “भुइँमान्छेका समस्या नै मेरो प्राथमिकता हुनेछ” भन्दै ठूला भाषण र खोक्रा आश्वासनभन्दा जनताको वास्तविक दुःख–पीडामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। अब फागुन २१ को निर्वाचनले रुपेश पाण्डेको राजनीतिक यात्रालाई जनताले कुन दिशा दिनेछन् भन्ने चासो पर्सा–३ मा तीव्र रूपमा बढ्दै गएको छ।

ताजा अपडेट

Local News