पर्सा । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्साको सखुवा प्रसौनी गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त भेलाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा एमालेको संगठनात्मक सक्रियता थप मजबुत बनाउनुका साथै चुनावी अभियानलाई नयाँ ऊर्जा प्रदान गरेको छ।
भेला एमाले सखुवा प्रसौनी गाउँपालिका कमिटी अध्यक्ष शिवनरायण महतोको अध्यक्षता तथा केन्द्रीय कमिटी सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटा, गाउँपालिका प्रमुख तथा युवा नेता जसवंत यादव, नेतृ फुलमती चौधरी, बाशुदेव थारू लगायत स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रमुख अतिथि प्रभु हजराले देशमा राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि एमाले नेतृत्व अपरिहार्य रहेको बताउँदै पर्सा–३ मा युवा उम्मेदवार रूपेश कुमार पाण्डे आम जनताको आशा र भरोसाको प्रतिनिधि भएको उल्लेख गर्नुभयो। भेलामा सहभागी हुँदै उम्मेदवार रूपेश पाण्डेले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै “अब पर्सा–३ लाई भाषण होइन, परिणाम चाहिएको छ” भन्ने दृढ सन्देश दिनुभयो।
कार्यक्रममा उपस्थित कार्यकर्ता तथा आम नागरिकहरूले पाण्डेप्रति खुलेर समर्थन जनाउँदै आगामी निर्वाचनमा विजयको शुभकामना व्यक्त गरेका थिए। साथै, आउँदो शनिबार बनसपति गाद्दीमाई मन्दिर परिसरमा आयोजना हुने अर्को बृहत् भेटघाट कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल बनाउन सम्पूर्ण पार्टीपंक्तिलाई एकताबद्ध भएर जुट्न आह्वान गरिएको छ। सखुवा प्रसौनीको यो भेला पर्सा–३ मा एमालेको चुनावी अभियान अझ आक्रामक र जनमुखी बन्दै गएको स्पष्ट संकेत बनेको छ।
