पर्सा–३ मा एमालेको निर्णायक शक्ति प्रदर्शन : शनिबार कार्यकर्ता भेटघाटमा योगेश भट्टराई

वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले संगठनात्मक गतिविधि थप तीव्र बनाएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै एमाले पर्सा जिल्लाले आउँदो शनिबार बृहत् कार्यकर्ता भेटघाट तथा संगठन सुदृढीकरण कार्यक्रम आयोजना गर्ने भएको हो।

नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव तथा पूर्व मन्त्री, प्रभावशाली युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रमलाई पर्सा–३ मा एमाले चुनावी अभियानको निर्णायक मोडका रूपमा हेरिएको छ। आयोजकका अनुसार कार्यक्रममार्फत पार्टी संगठनलाई जरा–जरा सम्म मजबुत बनाउने, कार्यकर्ताबीच एकता र समन्वय बढाउने तथा घरदैलो अभियानलाई अझ आक्रामक बनाउने रणनीति तय गरिनेछ। कार्यक्रममा योगेश भट्टराईले देशलाई स्थायित्व, विकास र समृद्धिको मार्गमा अघि बढाउन एमालेको जित अपरिहार्य रहेको सन्देश दिने तयारी गरिएको छ भने कार्यकर्तालाई स्पष्ट चुनावी कार्यदिशा र रणनिति प्रदान गरिने बुझिएको छ।

नेकपा एमाले पर्सा क्षेत्र नम्बर–३ को क्षेत्रीय समन्वय कमिटीको आयोजनामा हुने कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ। एमाले नेतृत्वको सामूहिक उपस्थिति र कार्यकर्ताको उत्साहले पर्सा–३ मा चुनावी माहोल थप तातिने आँकलन गरिएको छ। कार्यक्रमलाई एमालेको शक्ति प्रदर्शन र एकताबद्ध संघर्षको घोषणाका रूपमा लिइएको छ भने फागुन २१ को निर्वाचनमा पर्सा–३ बाट एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको जित सुनिश्चित गर्न निर्णायक हुने नेताहरूको दाबी छ।

आउँदो शनिबार पटेर्वा सुगौली गाउँपालिकास्थित श्री बनसपति गाद्दीमाई मन्दिर परिसरमा आयोजना हुने उक्त कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण पार्टीपंक्तिलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

ताजा अपडेट

Local News