वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको अगुवा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम व्यापक सहभागिता र उत्साहका साथ सम्पन्न भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गरिएको उक्त कार्यक्रममा नेकपा एमालेप्रति स्थानीय जनसमर्थन थप मजबुत बन्दै गएको स्पष्ट देखिएको छ।
कार्यक्रम नेकपा एमाले बहुदरमाई नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा तथा पार्टी केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। भेलामा केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, मधेस प्रदेश कमिटी सदस्य तथा बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुशवाहालगायत प्रदेश, जिल्ला र स्थानीय तहका प्रभावशाली नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय बुद्धिजीवी, समाजसेवी, महिला, युवा तथा सक्रिय कार्यकर्ताहरूको बाक्लो सहभागिताले बहुदरमाई क्षेत्रमा नेकपा एमालेको संगठनात्मक अवस्था बलियो बन्दै गएको संकेत दिएको नेताहरूले बताएका छन्। सहभागीहरूको जोश, सक्रियता र अनुशासनले आगामी निर्वाचनमा एमाले निर्णायक भूमिकामा देखिने आँकलन गरिएको छ।
भेलामा बोल्ने वक्ताहरूले नेकपा एमालेको नीति, सिद्धान्त र राष्ट्रवादी दृष्टिकोणलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउनुपर्नेमा जोड दिएका थिए। मधेस क्षेत्रमा एमालेविरुद्ध फैलाइएका भ्रम, अफवाह र दुष्प्रचारलाई चिर्दै विकास, सुशासन र राष्ट्रिय स्वाभिमानको पक्षमा एकताबद्ध भएर उभिन कार्यकर्तालाई आग्रह गरिएको थियो। आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने संकल्पसहित संगठनलाई घरघरमा विस्तार गर्नुपर्नेमा वक्ताहरूको जोड थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार तथा युवा नेतृत्वका प्रतीक रूपेश कुमार पाण्डेले क्षेत्रको दीर्घकालीन विकासका लागि आफ्नो स्पष्ट कार्ययोजना प्रस्तुत गरे। उनले कृषि क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय शिक्षा, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा, युवाका लागि रोजगारी सिर्जना तथा दिगो पूर्वाधार विकासलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सारे।
“राष्ट्र, राष्ट्रियता र जनताको भविष्य सुरक्षित गर्ने शक्ति नेकपा एमाले नै हो,” पाण्डेले भने, “देशको समृद्धि र जनताको उज्ज्वल भविष्यका लागि एमालेमा मतदान गर्नु आजको आवश्यकता हो।”
बहुदरमाई मात्र होइन, पर्सा–३ का विभिन्न गाउँ–नगरमा निरन्तर भइरहेका अगुवा भेला, घरदैलो अभियान र जनसम्पर्क कार्यक्रमले प्रतिनिधिसभा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनलहर तीव्र बन्दै गएको देखिन्छ। अनुभवी मार्गदर्शन, स्पष्ट विकास दृष्टि र जनतासँगको आत्मीय सम्बन्धका कारण पाण्डे पर्सा–३ मा भरोसायोग्य र बलियो उम्मेदवारका रूपमा उभिँदै गएका छन्।
स्थानीयवासीहरूका अनुसार यसपटक पर्सा–३ मा राजनीतिक परिवर्तनको वातावरण तयार भइसकेको छ, र उक्त परिवर्तनको नेतृत्व नेकपा एमाले तथा सूर्य चिन्हका उम्मेदवार रूपेश कुमार पाण्डेले गर्नेमा जनविश्वास दिनप्रतिदिन अझ मजबुत बन्दै गएको छ।
