नेपाली कांग्रेस पर्साद्वारा सामाजिक सञ्जाल समन्वय उपसमिति गठन, धिरज गुप्ता संयोजकमा मनोनयन

वीरगञ्ज ।
नेपाली कांग्रेस पर्सा जिल्ला कार्य समितिले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको चुनावी अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सामाजिक सञ्जाल समन्वय उपसमिति गठन गरेको छ।

जिल्ला कार्य समितिको मिति २०८२ माघ ०८ गते सम्पन्न बैठकको निर्णयअनुसार पार्टीका सक्रिय तथा ऊर्जाशील कार्यकर्ता धिरज गुप्तालाई सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजक पदमा मनोनयन गरिएको हो।

पार्टीका उम्मेदवारलाई विजयी गराउने लक्ष्यका साथ गठन गरिएको उक्त उपसमितिले सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार, सूचना प्रवाह, पार्टीका गतिविधि सार्वजनिकरण तथा जनसम्पर्कलाई सशक्त बनाउने जिम्मेवारी वहन गर्ने बताइएको छ। वर्तमान समयमा सामाजिक सञ्जालको बढ्दो प्रभावलाई ध्यानमा राख्दै पार्टीको सन्देशलाई प्रभावकारी रूपमा आम मतदातासम्म पुर्‍याउन उपसमिति महत्वपूर्ण माध्यम बन्ने कांग्रेस पर्साको विश्वास रहेको छ।

जिल्ला कार्य समितिले संयोजक गुप्ताप्रति विश्वास व्यक्त गर्दै तोकिएको जिम्मेवारी इमान्दारी, निष्ठा र सक्रियताका साथ निर्वाह गर्ने अपेक्षा गरेको छ। साथै, ५ दिनभित्र उपसमितिलाई पूर्णता दिई समिति विस्तारको विवरण जिल्ला कार्य समितिलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ।

नेपाली कांग्रेस पर्साले सामाजिक सञ्जाललाई चुनावी रणनीतिको महत्वपूर्ण अंगका रूपमा लिँदै डिजिटल अभियानमार्फत संगठनलाई थप मजबुत बनाउने र निर्वाचनमा सशक्त उपस्थिति जनाउने तयारी तीव्र बनाएको छ।

ताजा अपडेट

Local News