उत्साहपूर्ण भेलाबाट एमालेको शक्ति प्रदर्शन, पकहाँमैनपुरमा चुनावी सन्देश

पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिका पछिल्लो समय नेकपा एमालेका गतिविधिले थप सक्रिय देखिएको छ। पार्टीले आयोजना गरेको पालिकास्तरीय भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उल्लेखनीय सहभागिता र उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको हो। आगामी निर्वाचनलाई लक्ष्य गर्दै संगठनलाई अझ बलियो बनाउने उद्देश्यले आयोजित कार्यक्रममा वडास्तरदेखि जिल्लास्तरसम्मका नेता तथा कार्यकर्ताहरूको उपस्थिति उल्लेख्य रह्यो।

भेला प्रदेश कमिटी सदस्य एवं पालिका इन्चार्ज बिजय चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। साथै, जिल्ला कमिटी अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाशलगायत पार्टीका अनुभवी नेताहरूको उपस्थितिले भेलालाई थप अर्थपूर्ण बनाएको थियो।

कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का युवा नेता रूपेश कुमार पाण्डेले आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट पार्दै क्षेत्रको समग्र विकास नै आफ्नो प्राथमिक एजेन्डा रहेको बताए। उनले पकहाँमैनपुरसहित सम्पूर्ण पर्सा–३ लाई आर्थिक रूपमा सक्षम, सामाजिक रूपमा समावेशी तथा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर सुधार गर्ने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

“अब पर्सा–३ परिवर्तनको चरणमा प्रवेश गर्नुपर्छ,” भन्दै पाण्डेले विकास, रोजगारी र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने धारणा राखे। जनताको भरोसा, युवाको ऊर्जा र किसानको श्रमलाई योजनाबद्ध रूपमा उपयोग गर्ने स्पष्ट मार्गचित्र उनले प्रस्तुत गरे।

भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेको नेतृत्वमा मात्र पर्सा–३ को दीर्घकालीन विकास सम्भव हुने विश्वास व्यक्त गरे। उनीहरूले रूपेश पाण्डेको उम्मेदवारीलाई क्षेत्रको राजनीतिक दिशानिर्देशन बदल्ने अवसरका रूपमा लिँदै आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने प्रतिबद्धता जनाए।

पकहाँमैनपुरमा सम्पन्न यस भेलाले स्थानीय तहमा नेकपा एमालेको संगठनात्मक पकड अझ सुदृढ हुँदै गएको र पर्सा–३ मा चुनावी माहोल क्रमशः एमालेको पक्षमा बलियो बन्दै गएको संकेत दिएको छ।

ताजा अपडेट

Local News