शहीदप्रति श्रद्धाञ्जलीसँगै चुनावी अभियानको सुरुआत: पर्सा–३ मा रूपेश पाण्डेको ‘परिवर्तन अभियान’ सक्रिय

ज्योति जयसवाल

वीरगञ्ज ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ को राजनीतिक सरगर्मी बढ्दै गएको छ। यही सन्दर्भमा नेकपा एमालेका उम्मेदवार रूपेश कुमार पाण्डेले शहीद दिवसलाई केन्द्रमा राख्दै आफ्नो चुनावी अभियानको औपचारिक थालनी गरेका छन्। शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै सुरु गरिएको अभियानलाई स्थानीय स्तरमा अर्थपूर्ण सन्देशका रूपमा लिइएको छ।

पाण्डेले पर्साका विभिन्न स्थानमा रहेका ऐतिहासिक महत्वका शहीदका सालिकमा माल्यार्पण गर्दै सम्मान व्यक्त गरे। अभियानको सुरुआत उनले ‘सेरे पर्सा’ का रूपमा परिचित स्व. चन्द्रदेव प्रसाद चौधरीको सालिकबाट गरेका थिए। त्यसपछि रंगपुर टाँडी, पोखरिया नगरपालिकास्थित मधेश आन्दोलनका शहीद चन्दन पटेल तथा पकहामैनपुरका अमर शहीद शत्रुधन पटेलको सालिकमा पुगेर श्रद्धाञ्जली अर्पण गरिएको थियो।
उक्त अवसरमा अमर शहीद शत्रुधन पटेलकी आमा कुस्मी देवीलाई दोसल्ला ओढाएर सम्मान गरिएको दृश्यले कार्यक्रममा भावनात्मक वातावरण सिर्जना गरेको थियो।

स्थानीय बासिन्दाका अनुसार शहीदको सम्झनाबाट चुनावी यात्रा सुरु गर्नु पाण्डेको राजनीतिक सोच र मूल्यप्रतिको प्रतिबद्धताको संकेत हो। पर्सा–३ को सामाजिक बनावट, विकासका चुनौती र जनअपेक्षासँग परिचित पाण्डे पछिल्लो समय जनसम्पर्कमा सक्रिय रहँदै आएका छन्। विकास निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, रोजगारीका अवसर तथा स्थानीय अर्थतन्त्र सुदृढीकरण उनका प्रमुख प्राथमिकतामा छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले शहीदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक व्यवस्था सम्भव भएको उल्लेख गरे। उनले शहीदप्रति सम्मान केवल औपचारिक कार्यक्रममा सीमित नहुने भन्दै, उनीहरूले देखेको समावेशी र समृद्ध समाजको सपना पूरा गर्न राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताए।

उनको अभिव्यक्तिसँगै पर्सा–३ को चुनावी वातावरण थप सक्रिय बनेको छ। लामो समयदेखि दोहोरिएको नेतृत्व र अपेक्षित विकास नदेखिएको भन्दै असन्तुष्ट मतदाताबीच अब नयाँ अनुहारप्रति चासो बढ्दै गएको देखिन्छ। यही पृष्ठभूमिमा रूपेश कुमार पाण्डेलाई परिवर्तनको सम्भावनाका रूपमा हेरिन थालेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय तथा जिल्ला तहका नेताहरू, जनप्रतिनिधि, विभिन्न संगठनका अगुवा तथा ठूलो संख्यामा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। पार्टीको संगठनात्मक सक्रियता र जनस्तरको समर्थनसँगै पर्सा–३ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै जाने संकेत देखिएको छ।

ताजा अपडेट

Local News