वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पकहामैनपुर गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेद्वारा आज आयोजना गरिएको घरदैलो कार्यक्रम उल्लेखनीय जनउपस्थिति र उत्साहका साथ सम्पन्न भएको छ। कार्यक्रममा देखिएको जनसागर, आम नागरिकको स्वतःस्फूर्त सहभागिता तथा खुलेको समर्थनले सो क्षेत्रको राजनीतिक वातावरण झनै सक्रिय र प्रतिस्पर्धी बन्दै गएको संकेत गरेको छ।
घरदैलो कार्यक्रमका क्रममा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डेलाई स्थानीयवासीले खुलेर साथ, समर्थन र आशिर्वाद दिएका थिए। “भाषण होइन, काम चाहियो” भन्ने स्पष्ट सन्देशसहित जनताको बीचमा पुगेका पाण्डेको विकासमुखी सोच, युवामैत्री दृष्टिकोण र व्यवहारिक योजनाप्रति स्थानीयस्तरमै सकारात्मक प्रतिक्रिया देखिएको छ।
स्थानीय नागरिकसँगको प्रत्यक्ष संवादमा उम्मेदवार पाण्डेले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, आधारभूत पूर्वाधारको विस्तार र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए। उनका यी धारणा र योजनाले विगतका असफलता र निराशाजनक राजनीतिबाट दिक्क भएका मतदातामा नयाँ आशा र भरोसा जगाएको स्थानीयको प्रतिक्रिया रहेको छ।
घरदैलो कार्यक्रममा सहभागी सर्वसाधारणले “अब परिवर्तन चाहियो”, “पुरानै अनुहार होइन, नयाँ सोच र काम गर्ने प्रतिनिधि चाहियो” भन्दै पाण्डेप्रति विश्वास व्यक्त गरेका थिए। यसले पर्सा–३ मा परिवर्तनको पक्षमा जनमत क्रमशः बलियो बन्दै गएको संकेत दिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पकहामैनपुर–२ मा देखिएको यो जनउत्साहले नेकपा एमाले र उम्मेदवार रूपेश कुमार पाण्डेको चुनावी अवस्थालाई थप सुदृढ बनाएको छ। बढ्दो जनसमर्थन र स्थानीय तहमा प्राप्त विश्वासका आधारमा यस पटकको निर्वाचनले पर्सा–३ को राजनीतिक मुहार फेरिने सम्भावना बलियो बन्दै गएको विश्लेषण गरिएको छ।
घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, पूर्व प्रदेशसभा सदस्य मंजुर, अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका राष्ट्रिय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, एमाले नेता विजय चौरसिया, अकलेश कुमार साह, उत्तम तिवारी, कौशल साह, राकेश महतो, सन्तोष महतो, उपेन्द्र सहनीलगायत स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी, महिला र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
