चुनाव नजिकिँदै जाँदा पर्सा–३ मा नेताबीच जुहारी, पाण्डे–चौधरी आमनेसामने

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि र बहस तीव्र बन्दै गएको छ। यसै क्रममा नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले नेपाली काँग्रेसका पूर्वमन्त्री तथा उम्मेदवार सुरेन्द्र कुमार चौधरीको हालैको सार्वजनिक अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको धारणा मार्फत पाण्डेले चौधरीको राजनीतिक बोली र व्यवहार झुट, दम्भ र नकारात्मक सोचले प्रेरित रहेको आरोप लगाएका छन्। आफूलाई शिक्षित र विद्वानका रूपमा प्रस्तुत गर्ने नेताबाटै बारम्बार तथ्यविहीन आरोप, मिथ्या आश्वासन र अशोभनीय भाषा प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।

पाण्डेले केही समयअघि चौधरी स्वयं मानिकपुर–२ स्थित आफ्नो घरमा आएर बसेको, चिया–नास्ता खाएर प्रत्यक्ष संवाद गरेको प्रसंग स्मरण गराउँदै त्यसपछि सार्वजनिक रूपमा “सुनेको भरमा बोलेँ” भन्ने अभिव्यक्ति दिनु दोहोरो चरित्रको उदाहरण भएको बताएका छन्।
“आफैं आएर बसेको घरबारे ‘सुनेको छु’ भन्नु इमानदारी र नैतिकताको अपमान हो,” पाण्डेले उल्लेख गरेका छन्।

उनले विगत केही वर्षयता चौधरीले अपनाउँदै आएको राजनीतिक शैली धम्की, गालीगलौज र व्यक्तिगत आक्षेपमा आधारित रहेको दाबी गर्दै यस्तो अभ्यासले स्वस्थ लोकतान्त्रिक मूल्यलाई क्षति पुर्‍याएको बताएका छन्। विभिन्न नेताहरूलाई लक्षित गर्दै दिएका धम्की, आन्तरिक पार्टी प्रक्रियामा अवरोध र सार्वजनिक रूपमा गरिएको लाञ्छनाले चौधरीको वास्तविक राजनीतिक चरित्र उजागर भएको पाण्डेको दाबी छ।

पाण्डेले अजय चौरासिया मन्त्री बन्ने सन्दर्भ, रामहरी खतिवडा र शेखर कोइरालासँग भएका फोन संवाद, दरबारमार्गमा गरिएको भेटघाट तथा अस्पताल उद्घाटन रोक्न खोजिएको घटनासमेत उल्लेख गर्दै ती सबै विषय प्रमाणसहित सुरक्षित रहेको चेतावनीसमेत दिएका छन्।

आफ्नो राजनीतिक जीवनबारे स्पष्ट धारणा राख्दै पाण्डेले आफू इमानदारी, स्वावलम्बन र कर्ममा विश्वास गर्ने नेता भएको बताएका छन्।
“म आफ्नै कमाइको पैसाले राजनीति गर्छु, सार्वजनिक बजेटमा रजाइँ गरेर राजनीति गर्ने संस्कार मेरो होइन,” उनको भनाइ छ।

विद्वत्ताको विषयमा टिप्पणी गर्दै पाण्डेले पुस्तक पढ्नु मात्र पर्याप्त नभई ज्ञानलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताएका छन्। साथै धार्मिक आस्थाको विषय उठाउँदै उनले सत्य–असत्यको कसम खान गहवामाई मन्दिर जान तयार रहेको चुनौतीसमेत दिएका छन्।

उनले अन्त्यमा भनेका छन्, “अब पर्सा–३ ले झुट, धम्की र छलकपटको राजनीति होइन, स्पष्ट सोच र परिवर्तन चाहन्छ।”

स्थानीय स्तरमा पाण्डेको यस कडा अभिव्यक्तिलाई मतदाताले साहसी र स्पष्ट राजनीतिक अडानका रूपमा लिएका छन्। चुनाव नजिकिँदै जाँदा यस्ता प्रतिवादले पर्सा–३ को राजनीतिक माहोल अझ तातिने संकेत देखिएको छ।

पर्सा–३ मा जनसमर्थन पाण्डेको पक्षमा बढ्दो देखिनुका साथै उनीप्रतिको आकर्षणले परिवर्तनको संकेत दिएको स्थानीयको भनाइ छ। एमाले उम्मेदवार पाण्डेको स्पष्ट भिजन र जनतामाझ बढ्दो विश्वासका कारण विपक्षीहरू दबाबमा परेको र त्यसकै प्रतिक्रिया स्वरूप सामाजिक सञ्जालमा नकारात्मक हल्ला फैलाउने प्रयास भइरहेको आरोपसमेत लगाइएको छ।

यसैबीच, कांग्रेस नेता चौधरीले पाण्डेलाई लक्षित गर्दै “मेरो घरमा किताबको भण्डार छ, उनको घरमा रक्सीको भण्डार छ” भन्ने टिप्पणी गरेपछि राजनीतिक विवाद थप चर्किएको छ।

ताजा अपडेट

Local News