पर्सा,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नं.२ मा अगुवा नेता तथा कार्यकर्ताको व्यापक भेलाको आयोजना गरेको छ। भेलामा पार्टी संगठन मजबुत बनाउने, आगामी राजनीतिक र चुनावी रणनीति तय गर्ने तथा क्षेत्रका स्थानीय समस्याहरूमा छलफल गर्ने कार्य प्राथमिकतामा राखिएको थियो।
भेलामा सहभागी नेताहरूले सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री राजनीतिक अभ्यास पार्टीको मुख्य लक्ष्य रहेको बताएका थिए। वक्ताहरूले परम्परागत राजनीति असक्षम र नागरिकमैत्री नभएको भन्दै नयाँ सोच र सक्रिय कार्यशैलीको आवश्यकतालाई जोड दिएका थिए।
कार्यक्रममा स्थानीय तहमा पार्टी संगठनको प्रभाव विस्तार, नयाँ कार्यकर्ताको समावेशीकरण, पुराना कार्यकर्तासँग समन्वय र जनसम्पर्क प्रवर्द्धनमा विशेष ध्यान दिइएको थियो। साथै, आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारको विजय सुनिश्चित गर्न घरदैलो अभियान र प्रत्यक्ष संवादलाई प्राथमिकता दिने रणनीति तय गरिएको बताइएको छ।
भेलामा पर्सा–२ क्षेत्रका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरूको सहभागिता उल्लेखनीय रहेको थियो। सहभागीहरूले आपसी परिचय, समन्वय र संगठनात्मक एकता मजबुत भएको बताएका छन्। पार्टीले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय तहसम्म नागरिकसँग प्रत्यक्ष संवाद गर्दै जनआधारित राजनीति अघि बढाउने योजना रहेको जनाएको छ।
