भाषण होइन, परिणामको राजनीति : पर्सा–३ मा रूपेश पाण्डेको लहर

ज्योति जयसवाल

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक सरगर्मी उल्लेखनीय रूपमा बढेको छ। फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको चुनावी गतिविधिमा युवा उम्मेदवार रूपेश कुमार पाण्डेको अभियानले क्षेत्रको राजनीतिक बहसलाई नयाँ दिशातर्फ मोडेको देखिन्छ।

क्षेत्रभर देखिएको जनउत्साह, सघन घरदैलो अभियान र मतदातासँगको प्रत्यक्ष संवादले पाण्डेलाई परिवर्तनको भरोसायोग्य अनुहारका रूपमा स्थापित गरिरहेको स्थानीयहरूको भनाइ छ। “भाषणले होइन, परिणामले विश्वास जितिन्छ” भन्ने सन्देशसहित अघि बढिरहेका पाण्डेले पर्सा–३ को दीर्घकालीन विकासलाई केन्द्रमा राखेर स्पष्ट कार्ययोजना सार्वजनिक गरेका छन्। रोजगारी सिर्जना, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरीय सुधार तथा युवालाई अवसर दिने विषयलाई प्राथमिकतामा राखिएको उनको भिजन मतदाताबीच सकारात्मक रूपमा ग्रहण भइरहेको छ।

स्थानीय समुदायका अनुसार पाण्डेको अभियान केवल युवासम्म सीमित छैन। महिला, किसान, व्यापारी र बुद्धिजीवी वर्गसमेत उनको विकासमुखी सोचप्रति आकर्षित हुँदै गएको देखिन्छ। विगतमा पूरा हुन नसकेका प्रतिबद्धताबाट निराश मतदाताहरू अब ऊर्जाशील र जवाफदेही नेतृत्वले परिवर्तन सम्भव बनाउने विश्वासमा खुलेर उभिन थालेका छन्। “हामी संख्या मात्र होइनौं, सचेत नागरिक हौं” भन्ने भावनासहित मतदाताहरू परिवर्तनको एजेन्डामा एकताबद्ध देखिन्छन्।

उता, पाण्डेको बढ्दो जनसमर्थनले प्रतिस्पर्धी दलहरूलाई दबाबमा पारेको राजनीतिक विश्लेषकहरू बताउँछन्। चुनाव नजिकिँदै जाँदा आरोप–प्रत्यारोप र विभिन्न हत्कण्डा देखिए पनि मतदाताको प्राथमिकता विकास र परिणाममुखी नेतृत्व भएकाले त्यस्ता गतिविधिले खास प्रभाव पार्न नसकेको स्थानीय नेताहरूको ठम्याइ छ।

समग्रमा, पर्सा–३ को वर्तमान राजनीतिक तस्वीर हेर्दा परिवर्तनको पक्षमा जनमत सशक्त बन्दै गएको स्पष्ट संकेत देखिन्छ। फागुन २१ नजिकिँदै जाँदा युवा उम्मेदवार रूपेश कुमार पाण्डे आफ्नो घोषणालाई व्यवहारमा उतार्ने दृढ संकल्पसहित अघि बढिरहेका छन्, जसले क्षेत्रको राजनीतिक माहोललाई थप रोचक र निर्णायक बनाइरहेको छ।

ताजा अपडेट

Local News