नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट अग्रता लिने दाबी गरिएको छ। एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्र नम्बर–३ मा पार्टीको पक्षमा व्यापक जनसमर्थन देखिएको बताउँदै कम्तीमा पाँच हजार मतान्तरसहित विजय हासिल हुने विश्वास व्यक्त गरेका छन्।
मधेस प्रदेश कमिटीद्वारा जनकपुरमा आयोजित प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको परिचय तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै पाण्डेले पर्सा–३ मा संगठन सुदृढ, कार्यकर्ता एकताबद्ध र आम नागरिकमा एमालेप्रतिको भरोसा निरन्तर बढ्दै गएको उल्लेख गरे। यही जनविश्वासका कारण निर्वाचन परिणाम आफ्नो पक्षमा आउने उनले बताए।
पाण्डेले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्याउँदै शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम अघि बढाइने बताए।
उनका अनुसार विगतमा अधुरा विकास, बेरोजगारी समस्या र राजनीतिक अस्थिरताबाट जनता आजित भइसकेका छन्। “अब जनताले नारामात्र होइन, प्रत्यक्ष नतिजा चाहेका छन्,” भन्दै उनले स्थायित्व, सुशासन र विकासको पक्षमा यसपटक निर्णायक मत पर्ने दाबी गरे।
पर्सा–३ मा पाण्डेको सक्रिय घरदैलो अभियान, स्थानीय तहमा बढ्दो सहभागिता तथा युवा, महिला र अभिभावक वर्गबाट प्राप्त समर्थनले एमालेको चुनावी स्थिति झनै बलियो बन्दै गएको देखिएको छ।
समग्रमा, पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले देखाएको संगठनात्मक तयारी, उम्मेदवारको सक्रियता र जनसमर्थनले आगामी प्रतिनिधिसभा निर्वाचनमा सकारात्मक परिणाम आउने संकेत गरेको छ।
