वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार बुद्धिबहादुर पन्त (हरी पन्त) ले सरस्वती पूजाको पावन दिन पारेर आफ्नो चुनावी घरदैलो अभियान औपचारिक रूपमा सुरु गरेका छन्। ग्रामीण क्षेत्रबाट अभियानको सुरुआत गरेका पन्त टोल–टोलमा पुग्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद र अन्तरक्रियामा सक्रिय देखिएका छन्।
होटेल तथा पर्यटन व्यवसायबाट राजनीतिमा प्रवेश गरेका पन्त रास्वपाको तर्फबाट ‘जेन–जी आन्दोलन’का मुद्दा बोकेर मैदानमा उत्रिएका हुन्। युवाकेन्द्रित राजनीति, सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको स्पष्ट एजेन्डासहित उनी मतदाताको घरआँगनसम्म पुगेर आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्।
घरदैलो अभियानका क्रममा पन्तले शिक्षा, रोजगारी, महिला सशक्तीकरण, आधारभूत सेवा सुविधा, स्वास्थ्य, खानेपानी तथा विकास निर्माणसँग सम्बन्धित स्थानीयवासीका समस्या, गुनासा र अपेक्षाहरू ध्यानपूर्वक सुनेका छन्। उनले विद्यालयका विद्यार्थी, अभिभावक, महिला, युवा तथा सर्वसाधारणसँग आत्मीय संवाद गर्दै राजनीति जनताको जीवनसँग प्रत्यक्ष जोडिनुपर्ने धारणा राखे।
पन्तले पुरानो शैलीको राजनीतिले जनताको आवश्यकता र अपेक्षा पूरा गर्न असफल भएको उल्लेख गर्दै अब देशलाई नयाँ सोच, इमानदार नेतृत्व र जवाफदेही शासन प्रणालीको आवश्यकता रहेको बताए। महिला, युवा र बालबालिकाको भविष्य सुरक्षित गर्न राजनीतिक रूपान्तरण अपरिहार्य रहेको उनको भनाइ थियो।
स्थानीयवासीहरूले पनि वैकल्पिक राजनीतिक धारणा र नयाँ अनुहार बोकेको उम्मेदवारप्रति चासो व्यक्त गर्दै आफ्ना समस्या र अपेक्षाहरू खुलेर राखेका थिए। लामो समयदेखि दोहोरिँदै आएको पुरानो राजनीतिक अभ्यासबाट आजित भएको जनताको भावनालाई पन्तको अभियानले सम्बोधन गर्न खोजेको प्रतिक्रिया उनीहरूले दिएका छन्।
रास्वपा पर्सा कमिटीका अनुसार घरदैलो अभियानलाई आगामी दिनहरूमा थप तीव्र बनाइनेछ। निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गतका विभिन्न वडाहरूमा जनसम्पर्क, छलफल तथा अन्तरक्रिया कार्यक्रम विस्तार गर्दै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइने पार्टीले जनाएको छ।
