वीरगञ्जमा कर्फ्यु थपियो, मस्जिद तोडफोड प्रकरणपछि तनाव कायमै

वीरगञ्ज ।

धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर उत्पन्न तनावका कारण अशान्त बनेको वीरगञ्जमा लगाइएको कर्फ्युको अवधि थप गरिएको छ। सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्यु अवस्था पूर्ण रूपमा सामान्य नबनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले दिउँसो १ बजेसम्म निरन्तरता दिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्जका केही संवेदनशील क्षेत्रहरूमा अझै सतर्कता आवश्यक देखिएकाले शान्ति–सुरक्षा कायम राख्न कर्फ्यु थप्नुपरेको हो। उनले प्रशासनले परिस्थितिको निरन्तर मूल्याङ्कन गरिरहेको र दिउँसो १ बजेपछि अवस्थाको समीक्षा गरी कर्फ्यु खुकुलो पार्ने वा थप गर्ने निर्णय सार्वजनिक गरिने जानकारी दिए।

कर्फ्यु अवधिमा वीरगञ्जका मुख्य चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ। सुरक्षा निकायले संयुक्त रूपमा गस्ती कडा पारेका छन्। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नपर्न, संयमता अपनाउन र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।

प्रशासनका अनुसार कर्फ्यु क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शङ्कराचार्य गेटसम्म तोकिएको छ। कर्फ्यु अवधिमा आवतजावत, भेला, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ भने एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत अत्यावश्यक सेवाहरूलाई भने छुट दिइएको छ।

किन उत्पन्न भयो तनाव?

धनुषाको कमला नगरपालिका–६ सखुवा मरानमा रहेको मस्जिदमा गत शनिबार तोडफोड गरिएको र धार्मिक कागजातहरू जलाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अवस्था तनावग्रस्त बनेको हो। उक्त घटना टिकटकमा हिन्दु धर्मप्रति आपत्तिजनक टिप्पणी गरेको आरोपमा दुई मुस्लिम युवामाथि कारबाहीको मागसँग जोडेर भएको बताइएको छ।

आइतबार बिहान मस्जिद तोडफोडको विरोधमा मुस्लिम समुदायले वीरगञ्जमा टायर बालेर प्रदर्शन गरेका थिए। त्यसको प्रतिक्रियामा हिन्दु समुदायका युवाहरूले मोटरसाइकल जुलुस निकाल्दै सोमबार वृहत् प्रदर्शन गर्ने आह्वान गरेका थिए।

सोमबार बिहान हिन्दु समुदायको नाराबाजीपछि छपकैया क्षेत्रमा मुस्लिम युवाहरू भेला हुँदा अवस्था थप तनावपूर्ण बनेको थियो। सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लागू गरिए पनि प्रदर्शन जारी रहँदा आदर्शनगर, मकालु होटल चोक, लाठगल्ली र मुर्ली चोकलगायत स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुङ्गामुढा गरेका थिए। एक स्थानमा मोटरसाइकलमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ।

निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा २६ जनालाई नियन्त्रणमा लिइएको छ। मुर्ली चोकमा भएको कुटपिट घटनामा पूर्व वडाध्यक्ष तुफान अन्सारीसहित तीन जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रशासन कार्यालयले अवस्था सामान्य नहुन्जेल कडाइ जारी रहने संकेत दिँदै दुवै समुदायलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

ताजा अपडेट

Local News