जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा निःशुल्क स्वास्थ्य शिविर तथा भिआइए (VIA) स्क्रिनिङ कार्यक्रम सम्पन्न

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा नेपाल महिला संघ पर्साको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा भिआइए (VIA) स्क्रिनिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। महिलाहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीय महिलाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक रोग पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री रमेश रिजाल रहनु भएको थियो। शिविरको उद्घाटन सत्रमा बोल्दै पूर्वमन्त्री रिजालले महिलाको स्वास्थ्यप्रति राज्य, समाज र परिवार सबैले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले महिलाहरूले नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिँदै विशेष गरी पाठेघरसम्बन्धी रोगहरूको समयमै जाँच तथा उपचार अति आवश्यक रहेको बताउनुभयो। “यस्ता शिविरहरूले ग्रामीण भेगका महिलालाई ठूलो राहत दिन्छ,” उहाँले भन्नुभयो।

स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य जाँचका साथै महिलाहरूको पाठेघरको अवस्था जाँच गर्ने भिआइए (VIA) स्क्रिनिङ सेवा प्रदान गरिएको थियो। शिविरमा जम्मा ५० जना महिलाले भिआइए स्क्रिनिङ गराएका थिए, जसमध्ये ४ जना महिलामा प्रारम्भिक चरणको संक्रमण देखिएको आयोजकले जानकारी दिएका छन्। ती महिलाहरूलाई थप उपचार तथा परामर्शका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ।

कार्यक्रमका आयोजक किरण शर्माका अनुसार ग्रामीण क्षेत्रमा महिलाहरू अझै पनि स्वास्थ्य जाँचप्रति हिच्किचाउने अवस्था रहेकाले यस्ता निःशुल्क शिविर अत्यन्त आवश्यक छन्। “महिलाहरूको स्वास्थ्य सुरक्षित भए मात्र परिवार र समाज बलियो हुन्छ,” उहाँले भन्नुभयो।

स्थानीय महिलाहरूले शिविरबाट लाभान्वित भएको प्रतिक्रिया दिएका छन्। स्वास्थ्य जाँचको अवसर गाउँमै पाउँदा खुसी लागेको उनीहरूको भनाइ छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा महिला संघका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल महिला संघ पर्साले आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा अपडेट

Local News