वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा पछिल्ला दिनहरूमा मोटरसाइकल फाँटका सुब्बा केविन यादवमाथि व्यापक घुस असुली तथा अनियमिततामा संलग्न रहेको आरोप सतहमा आएको छ। दर्ता, नामसारी, नविकरणजस्ता सामान्य सेवाका लागि पनि बिचौलियामार्फत पैसा नतिरे ‘कामै नहुने’ गुनासो बढेपछि सेवाग्राहीहरू असन्तुष्ट बनेका छन्। यिनै विवाद र उजुरीका बीच कार्यालय प्रमुख कुसेश्वर साह भने निरन्तर सुधार, आन्तरिक अनुशासन र पारदर्शितामा जोड दिँदै आएका कारणले सकारात्मक चर्चामा छन्।
२०७८ सालदेखि वीरगञ्जमा कार्यरत सुब्बा यादवको सरुवा गत वर्ष मलंगवा कार्यालयमा भए पनि, उनले मन्त्रालयस्तरमा पहुँच पु¥याई २०८१ असोजमै पुनः वीरगञ्ज फिर्ता सरुवा गराएका थिए। फिर्तापछि कार्यालयमा अनियमितता झनै बढ्दै गएको स्थानीयहरू बताउँछन्। यता, प्रमुख साहले भने सुरुदेखि नै “नियम विपरीत कुनै पनि काम नहुने” भन्दै कर्मचारीलाई स्पष्ट निर्देशन दिएका थिए। उनले रहरमा होइन, कागजात, प्रक्रिया र कानूनी आधारअनुसार मात्र काम हुने वातावरण बनाउन लगातार प्रयास गरिरहेका छन्।
उनीकै पहलमा कार्यालयभित्र आन्तरिक निगरानी बढाइएको थियो, जसपछि मोटरसाइकल फाँटका कर्मचारीहरूमाथि आएका धेरै उजुरीहरू प्रमुखको टेबलसम्म पुगे। साहले अनुशासनहीनता तथा सेवाग्राहीप्रति दुर्व्यवहारमा शून्य सहनशीलता अपनाउँदै, “नियम तोड्नेले आफ्नै जिम्मेवारी लिनुपर्छ” भन्ने चेतावनी समय–समयमा दिँदै आएका छन्।
यता, सुब्बा यादवमाथि बिचौलियासँग संकेत–भाषामार्फत रकम तय गर्ने, सेवाग्राहीको उपस्थितिबिना ब्लुबुक प्रतिलिपि जारी गर्ने, पुराना नामसारी फाइलहरू रोक्ने र पछि ठूलो रकम लिएपछि मात्र सदर गरिदिने जस्ता गतिविधिमा संलग्न रहेको आरोप थप बलियो हुँदै गएको छ। यी आरोप सार्वजनिक बन्दै गएपछि प्रमुख साहले विस्तृत छानबिन अघि बढाउन सम्बन्धित निकायसँग सक्रिय समन्वय गरिरहेका छन्।
प्रमुख साहको निरन्तर पहलका कारण कार्यालयमा केही उल्लेखनीय सुधारहरू देखिन थालेका छन्—सेवा काउन्टरको समयपालन कडाइ, कागजात परीक्षणको कडाइ, कर्मचारी हाजिरी प्रणालीमा सुधार तथा बिचौलियाको प्रवेश नियन्त्रण त्यसमध्ये प्रमुख मानिन्छन्। सेवाग्राही उजुरी प्रत्यक्ष प्रमुखसम्म पुर्याउन सकिने व्यवस्था सक्रिय भएपछि धेरै नागरिकले राहत पाएको बताउँदै आएका छन्।
यद्यपि प्रश्न भने उस्तै छ—“प्रमुख यसरी सक्रिय हुँदा अनियमितता यसरी कसरी बढ्यो?” स्थानीयहरूका अनुसार समस्या प्रमुख–स्तरको कमजोरी नभई, वर्षौँदेखि जरा गाडेको बिचौलिया नेटवर्क र कर्मचारीतहमा बनेको ‘चलन’ नै मूल कारण हो।
आगामी छानबिनले तथ्य उजागर गर्नेछ। तर यो घटना प्रमुख कुसेश्वर साह जस्ता सुधारमुखी अधिकारीका लागि सुधार–अभियान अझ मजबुत बनाउने अवसरका रूपमा देखिएको छ। समयमै कडाइ, छानबिन र उत्तरदायित्वको स्पष्टता कायम गर्न सके—वीरगञ्ज यातायात कार्यालय सार्वजनिक सेवाप्रति नागरिकको भरोसा पुनःस्थापित गर्ने उदाहरण बन्न सक्छ।
