वीरगञ्ज, पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा डा. चित्तरञ्जन साह पुनः तेस्रोपटक निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) का रूपमा जिम्मेवारी सम्हालेका छन्। अस्पतालका तत्कालीन मेसु डा. चुमन लाल दासको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएपछि रिक्त भएको पदमा डा. साहलाई पुनः निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
डा. साहको पुनर्नियुक्तिलाई स्वागत गर्न अस्पताल विकास समितिका सदस्य विमल पौडेलले शुक्रबार भव्य कार्यक्रम आयोजना गरी शुभकामना व्यक्त गरेका थिए। पौडेलले डा. साहलाई फूलमाला लगाएर र खादा ओढाएर सम्मानपूर्वक स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
स्वागत कार्यक्रममा बोल्दै सदस्य पौडेलले नारायणी अस्पताल जनताको अस्पताल भएकाले यहाँका सेवामा पारदर्शिता, समयपालन र गुणस्तर सुधार हुनु जरुरी रहेको बताए। उनले नवनियुक्त निमित्त मेसु डा. साहसँग अस्पतालका विद्यमान समस्या समाधान गर्दै जनताको विश्वास जित्ने सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे। साथै, अस्पताल विकासका लागि आवश्यक सबै सहयोग विकास समितिको तर्फबाट उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे।
त्यसैगरी, स्वास्थ्य मन्त्रालयमा सरुवा भएका पूर्व मेसु डा. चुमन लाल दासलाई पनि सदस्य पौडेलले स-सम्मान बिदाइ गरेका थिए। पौडेलले डा. दासको कार्यकालमा अस्पतालमा उल्लेखनीय सुधार भएको स्मरण गर्दै ढाका टोपी लगाएर आगामी दिनका लागि सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंह, विभिन्न विभागका चिकित्सक, नर्स, र कर्मचारीहरूको उपस्थितिले उत्साहपूर्ण माहोल बनाएको थियो। सहभागीहरूले नयाँ नेतृत्वबाट अस्पताल सेवा अझ प्रभावकारी र जनमुखी बन्ने अपेक्षा व्यक्त गरे।
नारायणी अस्पताल, प्रदेश २ (मधेश प्रदेश) को प्रमुख सरकारी स्वास्थ्य संस्था भएकाले यहाँको व्यवस्थापन र सेवा गुणस्तरमा देखिने सुधारले प्रदेशभरका बिरामीलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास गरिएको छ। डा. साहको तेस्रो कार्यकालमा अस्पतालले सेवा सुधार र व्यवस्थापकीय पारदर्शितामा नयाँ गति लिने अपेक्षा गरिएको छ।
