सर्लाही, २०८२ असोज २६ — जनमत पार्टी सर्लाहीले जिल्ला अन्तर्गत रहेका २० वटै स्थानीय तहका सबै वडामा जेन–जी मतदाता दर्ता अभियान शुरू गरेको छ। आइतबार बिहान ८ बजेदेखि प्रारम्भ भएको यो अभियानको औपचारिक उद्घाटन पार्टीका जिल्ला इन्चार्ज श्री चन यादवले गर्नुभयो। गाउँ–गाउँमा मतदाता नामावलीमा छुटेकाहरूलाई सहयोग गर्दै उनीहरूलाई जिल्ला निर्वाचन आयोगमा लैजाने उद्देश्यले जनमत पार्टी सर्लाहीले हेल्प डेस्क सञ्चालन गरेको छ। यसका लागि सदरमुकाम मलंगवास्थित निर्वाचन कार्यालय अगाडि विशेष सहयोग कक्ष स्थापना गरिएको छ।
यसका साथै, हाल काठमाडौंबाट जेन–जीको नाममा संघीयता र पहिचान विरोधी विचार प्रचार गर्ने केही समूहले मधेशी जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरिरहेका संदर्भमा जनमत पार्टीले आफ्नो ‘जनमत जेन–जी’ धारणा स्पष्ट पारेको छ। पार्टीका अनुसार, ती समूहहरूले संघीय लोकतान्त्रिक प्रणाली, समानुपातिक समावेशिता, पहिचान, मधेशी, थारु, आदिवासी जनजाति, मुस्लिम, दलित लगायतको अधिकार खारेज गर्ने मागसमेत उठाइ संघीयता, राजनैतिक दल र स्थानीय तह समाप्त गर्न खोजेका छन्। १४ अञ्चल र ७५ जिल्लाको पुरानो ढाँचा फर्काउने, राजतन्त्र पुनर्स्थापना गर्ने, प्रदेशसभा र पालिका कार्यालयहरूमा आगजनी गर्ने जस्ता गतिविधिबाट उनीहरूले पहिचानवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र गरेको जनमत पार्टीको भनाइ छ।
जनमत जेन–जीले यस्ता आन्दोलनकारीहरूले पहिला प्रदेशसभा तथा मधेश केन्द्रित पार्टी कार्यालयहरूमा आगो लगाएर गरेको क्षतिसहितको जिम्मेवारी लिनुपर्ने बताएको छ। दशकौंको बलिदानीबाट प्राप्त संघीयता, स्वायत्तता, अधिकार र पहिचान रातारात धम्की, हिंसा वा भ्रम फैलाएर समाप्त गर्न नसकिने पार्टीको धारणा छ।
जनमत पार्टीले आफ्नो जेन–जी अभियानलाई वैचारिक, संगठित र दीर्घकालीन योजनासहितको वैकल्पिक राजनीतिक शक्तिको रूपमा परिभाषित गरेको छ। पार्टीका अनुसार, संघीय लोकतान्त्रिक शासन प्रणाली, अधिकार सम्पन्न प्रदेश, स्वायत्तता, समावेशिता, पहिचान, विकासको ब्लूप्रिन्ट र वडा–वडासम्मको संगठन नै आफ्नो ताकत हो। अन्य समूहहरूजस्तो अस्पष्ट माग, विरोधाभासी एजेन्डा र संगठनविहीन दृष्टिकोण होइन, स्पष्ट सिद्धान्त, दर्शन र रोडम्यापमार्फत देशलाई निकास दिने तयारी जनमत जेन–जीसँग रहेको पार्टीले जनाएको छ।
