बारामा आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्नलाई निर्मम कारवाही हुने : एसपी तामाङ

बारा जिल्लामा जेन जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्नहरुमाथि कठोर कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले बताएका छन्। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीजस्ता गतिविधि भएको उल्लेख गर्दै उनले संलग्न व्यक्तिहरूलाई कुनै हालतमा उम्कन नदिने चेतावनी दिएका हुन्।

एसपी तामाङका अनुसार अहिले प्रहरीले घटनासम्बन्धी तस्वीर, भिडियो लगायतका प्रमाणहरू संकलन गरिरहेको छ। ती प्रमाणका आधारमा तोडफोड तथा आगजनी गर्ने व्यक्तिहरूलाई पहिचान गरी निर्मम रूपमा कानूनी कारवाही गर्ने तयारी भइरहेको उनले स्पष्ट पारे।

“जनताको लागि समाजमा शान्ति, सुरक्षा, स्थिरता र चुस्ती कायम गर्नुपर्छ। आन्दोलन भोलि पनि हुन्छ तर कसैको घर, कार्यालय वा निजी सम्पत्तिमा आक्रमण, तोडफोड, आगजनी र लुटपाट स्वीकार्य हुँदैन,” एसपी तामाङले भने।

उनले यस घटनामा संलग्न व्यक्तिहरू मात्र होइन, विभिन्न आपराधिक गतिविधिमा हातेमालो गर्नेहरूमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिए। अनुसन्धानमार्फत पहिचान भएका सबैलाई कानूनी दायरामा ल्याई कडा कारवाही गरिने उनको भनाइ छ।

ताजा अपडेट

Local News