युवा नेता अकलेश साहको पहलमा स्वास्थ्य चौकी पुनर्निर्माण, जनताले पाउँदै सहज सेवा

पर्साको पकाहाँ मैनपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीको पुनर्निर्माण कार्य सम्पन्न भएसँगै स्थानीयवासीहरूमा ठूलो खुसीयाली देखिएको छ। यस स्वास्थ्य चौकीको निर्माण कार्य लामो समयदेखि अधुरो अवस्थामा रोकिएको थियो, जसका कारण गाउँका बासिन्दाले नियमित स्वास्थ्य सेवामा कठिनाइ भोग्दै आएका थिए। तर मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आ.व. २०८१/०८२ मा ३५ लाख रुपैयाँको लागतमा पुनर्निर्माण सम्पन्न भएपछि अब यो स्वास्थ्य चौकी नयाँ र आधुनिक स्वरूपमा सञ्चालनमा आएको छ।

यो कार्य सम्पन्न गराउनमा अखिल नेपाल पिछडावर्ग (OBC) महासंघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज, साथै नेकपा एमालेका प्रभावशाली युवा नेता अकलेश कुमार साहको विशेष पहल निर्णायक भएको स्थानीयहरूले बताएका छन्। साहको सक्रियता, निरन्तर पहल र प्राथमिकतामा यस क्षेत्रमा स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउन बजेट ल्याएर पुनर्निर्माण सम्भव भएको हो। अधुरो अवस्थामा रहेको स्वास्थ्य चौकीलाई पुनः निर्माण गरी अब गाउँका सर्वसाधारणले नजिकैबाट स्वास्थ्य सेवा पाउने सम्भावना खुलेको छ।

नेता साहले आफनो राजनीतिक जिम्मेवारीलाई जनतामुखी सेवामा केन्द्रित गर्दै आएको उल्लेख गर्दै भनेका छन्, “जनताले चाहेका आधारभूत सुविधामा लगानी गर्नु मेरो पहिलो जिम्मेवारी हो। स्वास्थ्य, शिक्षा, खानेपानी, सडक र नालाजस्ता सुविधा सर्वसाधारणको जीवनसँग प्रत्यक्ष जोडिएका हुन्छन्। त्यसैले यी क्षेत्रमा प्राथमिकता दिनु आवश्यक छ।” उनले गत एक वर्षमै गाउँपालिकाभित्र विभिन्न विकास निर्माण र मर्मतका कामलाई अघि बढाएर स्थानीय जनताको विश्वास जित्न सफल भएको पनि उल्लेख गरिएको छ।

स्वास्थ्य चौकी पुनर्निर्माणसँगै गाउँका बासिन्दाले अब सजिलै स्वास्थ्य सेवा लिन सक्ने र उपचारका लागि टाढासम्म धाउन नपर्ने विश्वास व्यक्त गरेका छन्। एक वृद्ध स्थानीयले भने, “युवा नेता अकलेश साहजस्तो काम गर्ने नेता पहिले देखेका थिएनौं। उनको प्रयासले अधुरो अस्पताल पुनःनिर्माण भएर हामीलाई सेवा पाउन सजिलो भएको छ। पहिलाभन्दा धेरै सुधार आएको छ, हामी सबै धेरै खुसी छौं।”

यसरी अधुरो अवस्थामा अलपत्र परेको स्वास्थ्य चौकी पुनर्निर्माण भई सञ्चालनमा आएसँगै पकाहाँ मैनपुर गाउँपालिका–४ का बासिन्दाले दीर्घकालीन लाभ उठाउने अपेक्षा गरेका छन्। यसलाई स्थानीय विकासको एउटा महत्वपूर्ण उदाहरणका रूपमा पनि लिइएको छ, जसले भविष्यमा गाउँपालिकाभित्रका अन्य अधुरो विकास योजनाहरूलाई पूर्णता दिन प्रेरणा दिने देखिएको छ।

ताजा अपडेट

Local News