पत्रकारमाथि दुर्व्यवहार गर्ने स्वास्थ्य अधिकृतमाथि कारबाहीको माग, प्रेस सेन्टर पर्साको चेतावनी

स्वास्थ्य कार्यालय पर्साका जयमोद ठाकुर अधिकृतले पत्रकारहरूमाथि गरेको दुर्व्यवहारको घटनाले गम्भीर तरंग उत्पन्न गराएको छ। उक्त घटनाप्रति प्रेस सेन्टर पर्साले कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेको छ। यदि तत्काल कारबाही नभए आन्दोलनमा उत्रनुपर्ने चेतावनीसमेत दिएको छ।

प्रेस सेन्टर पर्साद्वारा जारी विज्ञप्तिअनुसार, स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको तालिम कार्यक्रममा सहभागी हुन गएका प्रेस सेन्टर पर्सा शाखाका कार्य समिति सदस्य सन्तोषकुमार कुशवाहा, पत्रकारहरू आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी र आनन्दकुमार पटेलमाथि स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अभद्र व्यवहार गरेका थिए। उनीहरूले पत्रकारहरूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज तथा दुर्व्यवहार गरेको जनाइएको छ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रेस सेन्टर पर्साले स्वास्थ्य अधिकृत ठाकुरलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “प्रहरी प्रशासनका जिल्लास्तरीय उच्च अधिकारीहरूले पत्रकारमाथि दुर्व्यवहार गर्ने व्यक्ति विरुद्ध कानुनी प्रक्रिया अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन्, जसले प्रहरी प्रशासनको निष्पक्षताप्रति नै प्रश्न उठाएको छ।”

प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले जारी गरेको विज्ञप्तिमा घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमणको रूपमा लिँदै, यदि दोषीमाथि शीघ्र र कडा कानुनी कारबाही नभए संघर्षका कार्यक्रम घोषणा गरिने स्पष्ट चेतावनी दिइएको छ।

ताजा अपडेट

Local News