सर्लाहीमा जसपा नेता र प्रहरी प्रमुखबीच विवाद, गालीगलौजको अडियो सामाजिक सञ्जालमा भाइरल

सर्लाही जिल्लामा जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादव र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काबीचको विवाद चुलिएको छ। पूर्वाधार कार्यालयसँग सम्बन्धित एक विषयलाई लिएर भएको टेलिफोन संवादको अडियो सार्वजनिक भएपछि यो विषय झनै चासोको केन्द्रमा पुगेको छ।

सामाजिक सञ्जालमा भाइरल भएको अडियोमा जसपा नेता यादवले एसपी खड्कालाई खुलेर गालीगलौज गर्दै प्रहरी प्रशासनमाथि गम्भीर आरोप लगाएका छन्। उनले प्रहरीलाई “मधेश लुट्न आएको” आरोप लगाउँदै, राताराति मानिस बोलाएर पैसा उठाउने, सुरक्षा दिने जिम्मेवारीमा रहेका प्रहरीहरू नै भ्रष्टाचारमा संलग्न रहेको, र भ्रष्ट कर्मचारीहरूलाई संरक्षण दिएको जस्ता गम्भीर अभिव्यक्ति दिएका छन्। यादवले भौतिक पूर्वाधार कार्यालय सर्लाहीका कर्मचारीहरू, जिल्ला शिक्षा इकाईका कर्मचारीहरू रौतहटको चपुरमा बसेर कमिसनको कारोबार गरिरहेको दाबीसमेत गरेका छन्।

अडियोमा एसपी खड्का आफूलाई लागेको आरोपप्रति प्रतिवाद गर्दै ‘कुरा बुझेर बोल्न आग्रह’ गरे पनि, यादव आफ्नो अडानमै अडिग रही बारम्बार आरोप दोहोर्‍याउँछन्। गालीगलौजसहितको तीव्र बहसले अडियो संवाद तिक्तपूर्ण बनेको स्पष्ट देखिन्छ।

यस विषयमा प्रतिक्रिया दिँदै नेता यादवले प्रहरी प्रशासनको संरक्षणमा सर्लाहीका सरकारी कार्यालयहरूमा व्यापक भ्रष्टाचार हुँदै आएको आरोप दोहोर्‍याएका छन्। उनका अनुसार, कर्मचारीहरू दिनमा रौतहट गएर कमिसनको कारोबार गर्छन् भने रातिमा सर्लाही फर्किएर कार्यालयको ढोका बाहिर ताला लगाई भित्रभित्रै अवैध गतिविधि गर्छन्, जसमा प्रहरीको प्रत्यक्ष संरक्षण रहने गरेको उनले बताएका छन्।

उनले भने, “हिजो राति प्रहरीको सुरक्षामा कर्मचारीहरू काम गरिरहेको थाहा पाएपछि मैले एसपीलाई फोन गरेको थिएँ। उनले मुख छाडेपछि मैले पनि गाली दिएँ, त्यो अडियो सबैले सुनेकै हो।”

दोस्रोतर्फ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले घटनाको पुष्टि गर्दै यसबारे अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार, हिजो राति ११ बजे उनीकै कमाण्डमा खटिएको प्रहरी टोली नेता यादवलाई नियन्त्रणमा लिन उनका घर गएको थियो। तर बाटोमै नेता यादवका छोराले प्रहरीसँग विवाद गरेका कारण गाउँलेहरूको हुलहुज्जत भयो र टोलीलाई फर्कनु पर्‍यो।

प्रहरीको गाडीमा तोडफोडसमेत भएको जानकारी दिँदै डीएसपी राईले नेता यादवविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको र हाल खोजी कार्य जारी रहेको बताएका छन्। यस घटनाले सर्लाहीमा प्रशासन र राजनीतिक नेतृत्वबीचको सम्बन्धमा चिसोपन आएको स्पष्ट संकेत गरेको छ।

ताजा अपडेट

Local News