बारा, असार १७
बारा जिल्लाको ग्रामिण क्षेत्र अन्तर्गत पर्ने कवाहीगोठ नाका हुँदै कपडा, मोटर पार्ट्स, सुपारी,भैंसी लगायतका सामग्रीको अवैध तस्करी तीव्र रूपमा चलिरहेको खुलेको छ। स्थानीय स्रोतका अनुसार, सुरक्षामा खटिएका प्रहरी स्वयं तस्करीलाई ‘हरियो बत्ती’ देखाइरहेका छन् भन्ने आरोप व्यापक रूपमा उठ्न थालेको छ।
स्थानीयवासीहरूले बताएका अनुसार, नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कवाहीगोठ नाका तस्करीको केन्द्र बन्दै गएको छ। प्रहरीले ठूला व्यापारी र तस्करलाई सुरक्षाको नाममा संरक्षण दिँदै आएको आरोप लगाइएको छ। तस्करीको सामानहरू सिधै प्रहरी चौकी अगाडि भएर ओसारपसार हुने गरेको उल्लेख छ।
स्थानीय स्रोतहरूका अनुसार, कवाहीगोठ नाकाबाट दैनिक करिब ५० लाख रुपैयाँभन्दा बढीको सामग्री अवैध रूपमा आयात-निर्यात हुने गरेको छ। दिउँसोको समयमा विशेष गरी तस्करीमा संलग्न समूहहरू अझ बढी सक्रिय हुने गरेको जनाइएको छ।
शान्ति सुरक्षाको नाममा खटिएका नेपाल प्रहरीका सई आसमहमद अंसारीमाथि पनि अवैध कारोवारमा संलग्न भएको आरोप लागिरहेको छ। वर्दीको आडमा सीमाक्षेत्रलाई ‘कमाई खाने भाँडो’ बनाइएको भन्दै सर्वसाधारणले प्रहरी संगठनप्रति गम्भीर प्रश्न उठाएका छन्।
स्थानीयहरूको भनाइअनुसार, प्रहरीको संरक्षणमा खुलेआम तस्करी हुनुले संगठनकै संलग्नता रहेको आशंका गरिएको छ। यसबारे प्रहरीको माथिल्लो निकाय मौन बस्नु थप चिन्ताको विषय बनेको छ।
सीमाक्षेत्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको आचरणप्रति सार्वजनिक असन्तुष्टि बढ्दै गएको छ। अवैध कारोवारलाई नियन्त्रण गर्न र सुरक्षाकर्मीको भूमिकामाथि छानबिन गर्न प्रहरी संगठनका केन्द्रीय तहको तत्काल ध्यान आवश्यक देखिन्छ।
