पर्सा, असार ६ गते – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँबाट खटिएको टोलीले पर्सा जिल्लाका दुई जना नगरपालिका अधिकारीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र पोखरिया नगरपालिकाका जिन्सी, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दीप साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, अजय कुमार श्रीवास्तव पोखरिया नगरपालिकामा कार्यरत रहँदा विभिन्न योजना स्वीकृति, खरिद आदेश तथा ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा पक्राउ परेका हुन्। सोही प्रकृतिका आरोपहरूमा पोखरिया नगरपालिकाका शाखा प्रमुख सन्दीप साहसमेत पक्राउ परेका छन्। श्रीवास्तवलाई शुक्रबार बिहान वीरगन्ज–१५ स्थित दिनबन्धु पेट्रोल पम्प अगाडि रहेको चिया पसलबाट नियन्त्रणमा लिइएको थियो भने साहलाई वीरगन्जको प्रगतिनगरस्थित उनको निजी निवासबाट पक्राउ गरिएको हो।
अख्तियारको अनुसन्धानका क्रममा सार्वजनिक पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभको लागि गैरकानुनी रकम मागेको र लिएको प्रमाण फेला परेपछि अजय कुमार श्रीवास्तवविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ। त्यस्तै, पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानका विश्वासपात्र मानिने सन्दीप साहमाथि पनि विभिन्न योजना तथा सामग्री खरिदमा ठेकेदार र सेवाग्राहीहरूसँग अनधिकृत आर्थिक लेनदेन गरेको आरोप लागेको छ।
अजय कुमार श्रीवास्तव करिब एक महिना अघि मात्र पोखरिया नगरपालिकाबाट सरुवा भई बहुदरमाई नगरपालिकामा आएका थिए।पोखरिया नगरपालिकामा कार्यरत रहँदा उनीमाथि कर्मचारी नियुक्ति, योजना स्वीकृति, खरिद आदेश र ठेक्का प्रक्रियामा अनियमितता भएको उजुरी परेपछि अख्तियारले प्रारम्भिक अनुसन्धान थालेको थियो। सो क्रममा आयोगले पोखरिया नगरपालिकामा छापा मारी केही कागजात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा प्रमाणहरू फेला पर्नुका साथै लिखित स्पष्टीकरणहरू समयमा नपठाउनु जस्ता कारणले आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवसहित ६–७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बुझिएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखी आवश्यक कानुनी प्रक्रिया पूरा गरी शुक्रबार साँझ ४ बजे काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिएका छन्।
