यातायात व्यवस्था कार्यालय, कलैयाको सेवाप्रवाह जनमुखी र पारदर्शी बनाउँदै – प्रमुख दास

मधेस प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालयको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय, कलैयाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र जनमुखी बनाउन निरन्तर पहल गरिरहेको छ।

कार्यालयले साप्ताहिक लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्दै आइरहेको छ, जसले सेवाग्राहीहरूलाई सहज ढंगले लाइसेन्स प्राप्त गर्न सहयोग पुगेको छ। कार्यालयका प्रमुख अरविन्द्र दासका अनुसार सवारी चालक अनुमतिपत्र प्रणालीलाई पारदर्शी र जनमैत्री बनाउने उद्देश्यले विभिन्न सुधारात्मक कार्यहरू अगाडि बढाइएको छ।

सेवाग्राहीमैत्री प्रणालीको विकास

प्रमुख दासले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य भनेको सेवाग्राहीले कुनै अवरोधविना सेवा प्राप्त गर्न सक्ने वातावरण तयार गर्नु हो। त्यसका लागि हामीले आन्तरिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएका छौं।” उहाँका अनुसार कार्यालयले प्रचलित कानुनी तथा प्राविधिक मापदण्डअनुसार नै सम्पूर्ण प्रक्रिया सञ्चालन गर्दै आएको छ। साथै, कार्यालयमा प्राविधिक उपकरण, मानव संसाधन व्यवस्थापन र अनलाइन प्रणालीको प्रभावकारी प्रयोगमार्फत सेवाप्रवाहलाई अझ सहज बनाइएको जानकारी दिइयो।

भ्रामक समाचारप्रति आपत्ति

यद्यपि पछिल्लो समय केही सञ्चार माध्यमहरूबाट कार्यालयप्रति भ्रामक तथा आधारहीन समाचारहरू प्रकाशित भएको विषयमा प्रमुख दासले गम्भीर आपत्ति जनाउनुभएको छ। उहाँले ती समाचारहरू नियोजित ढंगले कार्यालयको छवि बिगार्ने उद्देश्यले प्रकाशन भएको दाबी गर्दै भन्नुभयो, “हामी पूर्णरूपमा पारदर्शी ढंगले काम गर्छौं। कुनै प्रक्रिया नियमबिना अगाडि बढ्दैन। केही मिडिया संस्थाहरू वा व्यक्तिहरूले व्यक्तिगत लाभका लागि कार्यालयलाई बदनाम गर्ने प्रयास गरिरहेका छन्, जुन दुर्भाग्यपूर्ण छ।”

सिकिन्द्र दासको भनाइ

प्रकाशित समाचारमा नाम र फोटो उल्लेख गरिएको सिकिन्द्र दासले पनि आफ्नो आपत्ति जनाउँदै स्पष्टीकरण दिएका छन्। उहाँका अनुसार आफू कार्यालयका कुनै पनि कर्मचारी नभएको स्पष्ट गर्दै भन्नुभयो, “म कार्यालयको कर्मचारी नै होइन तर पनि मेरो नाम र तस्बिर राखेर मलाई अनावश्यक रूपमा बदनाम गर्न खोजिएको छ। यो मेरो व्यक्तिगत चरित्र हत्या गर्ने प्रयास हो।”

प्रमुख दासले पनि उक्त विषयमा पुष्टि गर्दै भनेका छन्, “सिकिन्द्र दास कार्यालयका कर्मचारी होइनन्। यसरी भ्रामक समाचार प्रकाशित गर्नु पूर्ण रूपमा गैरजिम्मेवार व्यवहार हो।”

कानूनी प्रक्रिया अघि बढाइँदै

सिकिन्द्र दासले भ्रामक समाचार प्रकाशन गर्ने सञ्चार माध्यमविरुद्ध कानूनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएका छन्। उहाँले सम्बन्धित सञ्चार माध्यमसँग औपचारिक माफीको माग गर्दै, यदि आवश्यक परे कानूनी माध्यमबाट आफ्नो न्याय सुनिश्चित गर्ने बताएका छन्।

ताजा अपडेट

Local News