वीरगञ्ज, पर्सा ।
नारायणी अस्पतालको सघन उपचार कक्ष (ICU) र सिसीयू (CCU) जस्ता अति संवेदनशील क्षेत्रहरूमा विद्युत सेवा दुई घण्टा ३० मिनेटसम्म अवरुद्ध हुँदा पनि कुनै बिरामीको मृत्यु नभएको खबरले एकातिर राहत महसुस गराए पनि अर्कातिर प्रशासनिक लापरबाहीप्रति गम्भीर चिन्ता उत्पन्न गराएको छ।
शुक्रबार राति करिब १०ः३० बजेदेखि शनिबार बिहान १ः०० बजेसम्म नारायणी अस्पतालको ICU र CCU मा पूर्ण रूपमा विद्युत सेवा अवरुद्ध भयो। यस्तो संवेदनशील अवस्थामा अस्पताल प्रशासनले समयमा समुचित पहल नगर्दा सम्भावित ठूलो दुर्घटनाको जोखिम उत्पन्न भएको थियो।
घटनाको समयमा ICU र CCU मा जम्मा १७ जना बिरामी उपचाररत थिए। तीमध्ये केही अत्यन्त गम्भीर अवस्थाका थिए। विद्युत् अवरुद्ध भएसँगै अस्पतालका चिकित्सक, नर्स र स्टाफहरूले मोबाइल फोनको टर्चको उज्यालोमा उपचार जारी राखे। समयमै आवश्यक सतर्कता अपनाएर ती बिरामीहरूलाई जोगाउन सफल भएका थिए।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्ररञ्जन साहका अनुसार, कमजोर प्रकृतिको वायरिङ प्रणालीको कारण विद्युत् अवरोध भएको हो। उनी भन्छन्, “आइसीयूमा रहेका दुई जना अत्यन्त गम्भीर बिरामीलाई अर्को अस्पतालमा रेफर गर्ने तयारी भइरहेकै समयमा विद्युत सेवा पुनः फर्किएको थियो। यदि समयमै सेवा फर्किएको नभएको भए, परिणाम गम्भीर हुन सक्थ्यो।”
यस घटनामा अस्पताल प्रशासनले पर्याप्त ध्यान नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनले कडा प्रतिक्रिया व्यक्त गरेका छन्।
शनिबार बिहान जिल्ला प्रशासन कार्यालयमा पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल र प्रहरी प्रमुख गौतम मिश्रको उपस्थितिमा नारायणी अस्पताल विकास समितिका अध्यक्ष, अस्पताल प्रमुख, विभागीय प्रमुखहरू, नर्सिङ स्टाफ, इलेक्टिसियनलगायत सबै सरोकारवालासँग संयुक्त बैठक सम्पन्न भयो।
प्रजिअ अर्यालले भन्नुभयो, “अस्पतालको अति संवेदनशील कक्षमा दुई घण्टाभन्दा बढी समय विद्युत् अवरुद्ध हुनु अत्यन्त गम्भीर कुरा हो। यदि यस घटनाले कुनै बिरामीको ज्यान गएको भए, त्यसको जिम्मा कसले लिने थियो? अबदेखि यस्ता लापरबाही दोहोरिन नदिन स्पष्ट निर्देशन दिन्छु।”
प्रहरी प्रमुख मिश्रले अस्पतालमा २४ सै घण्टा विद्युतीय कर्मचारी (इलेक्टिसियन)को उपस्थितिको आवश्यकता औंल्याउँदै, “विद्युत् अवरोधको समयमा इलेक्ट्रिसियन नै उपलब्ध नहुनु गम्भीर लापरबाही हो,” भन्नुभयो। उहाँले अस्पतालका सबै कर्मचारी शारीरिक र मानसिक रूपमा सक्षम भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले घटनालाई गम्भीर रुपमा लिएको बताउँदै भविष्यमा यस्ता लापरबाही नदोहोर्याउने प्रतिबद्धता जनाउनुभयो।
यस घटनाले अस्पतालको आधारभूत पूर्वाधार, विशेषगरी आकस्मिक अवस्थामा प्रयोग हुने ब्याकअप प्रणाली (जस्तै जेनरेटर, UPS आदि) को अवस्था प्रति गम्भीर प्रश्न उठाएको छ।
अस्पताल प्रशासनले छिट्टै विद्युतीय प्रणालीको सम्पूर्ण परीक्षण गर्ने, आवश्यक मर्मतसम्भार गर्ने र आकस्मिक अवस्थाको लागि वैकल्पिक विद्युत् आपूर्तिको सुनिश्चितता गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।
