१६ जेठ, बीरगन्ज | पर्सा जिल्लामा ट्राफिक नियम उल्लंघन नियन्त्रणका लागि ट्राफिक प्रहरीले विशेष चेकिङ अभियान चलाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोक राज भट्टको निर्देशनमा बीरगन्जको प्रमुख व्यस्त क्षेत्र घन्टाघरमा व्यापक निगरानी र कारबाही गरिएको हो।
विशेष ट्राफिक चेकिङ अभियान अन्तर्गत शनिबार घन्टाघर क्षेत्रमा ट्राफिक टोलीले कडाइका साथ नियम उल्लंघनकर्तामाथि कारबाही गरेको छ। ट्राफिक प्रहरीका अनुसार, अभियानका क्रममा कुल २० जना सवारी चालक कारबाहीमा परेका छन्।
चेकिङ टोलीको नेतृत्व ट्राफिक असई (सहायक निरीक्षक) देवश श्रेष्ठले गरेका थिए। श्रेष्ठको समन्वयमा खटिएको टोलीले ५ जना चालकलाई ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि अनलाइन प्रणालीमार्फत तुरुन्तै जरिवाना तिराएको हो। त्यस्तै, बाँकी १५ जनालाई सवारी चिट काटी थप कारबाही प्रक्रिया अघि बढाइएको छ।
कारबाहीमा परेका सवारी चालकहरू मुख्यत: हेलमेट नलगाउने, सवारी अनुमतिपत्र (लाइसेन्स) नबोक्ने तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने व्यक्ति रहेको ट्राफिक प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख लोक राज भट्टले नागरिकको सुरक्षामा कुनै सम्झौता नगरिने स्पष्ट पार्दै भने, “सडक सुरक्षा र नागरिकको ज्यानको रक्षाका लागि ट्राफिक नियम पालना अनिवार्य छ। नियम उल्लंघन गर्नेहरूलाई कडाइका साथ कानुनी दायरामा ल्याउने हाम्रो प्राथमिकता हो।”
प्रहरीका अनुसार यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइनेछ र जनचेतनामूलक कार्यक्रमहरूसमेत सञ्चालन गरिनेछ।
