वीरगञ्ज, पर्सा —प्रगतिशील पत्रकारिता आन्दोलनका अगुवा तथा जनयुद्धका कालखण्डमा राज्यद्वारा हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई विशेष सम्मान प्रदान गरेको छ।
वीरगञ्जमा बिहीबार आयोजित एक विशेष समारोहमा पत्रकार गोविन्द देवकोटा र रितेन्द्र झा (रितेश झा) लाई क्रमशः कृष्ण सेन स्मृति सम्मान र प्रेस सेन्टर नेपाल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। दुवै पुरस्कारका साथ जनही रु २१ हजार नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको छ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलले संयोजकत्व गरेको पुरस्कार छनोट समितिले पत्रकार देवकोटा र झालाई पत्रकारिताको क्षेत्रमा सक्रिय योगदानका आधारमा छनोट गरेको जानकारी गराए। उक्त समितिमा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल सदस्य रहेका थिए।
सो कार्यक्रममा विभिन्न वक्ताहरुले कृष्ण सेनको योगदानको स्मरण गर्दै प्रगतिशील पत्रकारितालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले इच्छुकले देखाएको बाटो पछ्याउँदै वर्तमान पत्रकारिताले जनपक्षीयता, निर्भीकता र परिवर्तनको पक्षमा अझ स्पष्ट र दृढ भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
