बारा, पर्सा, रौतहट, सर्लाही तथा भारतको सीमावर्ती क्षेत्रबाट दैनिक हजारौँ बिरामी उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा आउने गर्छन्। अस्पतालका अनुसार दैनिक १,००० भन्दा बढी बिरामी ओपीडी सेवा लिन्छन् भने २०० जति आकस्मिक कक्षमा आउने गर्दछन्। यति धेरै चापका बीच अस्पतालसँग पर्याप्त शय्या नहुँदा दैनिक २५–३० बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पताल स्रोत बताउँछ।
अस्पतालको तथ्याङ्कअनुसार, आउने बिरामीमध्ये अधिकांश दीर्घरोगी छन् — मधुमेह, उच्च रक्तचाप, दम, मुटु तथा मिर्गौला सम्बन्धी समस्यामा ग्रसित। यस्तै, दैनिक १०० भन्दा बढी छालासम्बन्धी रोगीहरू आउने गरेका छन्, जसमा घाउखटिरा, एलर्जी, फोहोर पानीको असर वा प्रदूषणका कारण देखिएका समस्या प्रमुख छन्।
विशेषगरी औद्योगिक प्रदूषणको असर सर्वाधिक देखिएको छ। उद्योगबाट निस्कने धुवाँ, रासायनिक फोहर, हावामा मिसिने सूक्ष्म कणहरू र नदी/खोलामा मिसिने रसायनहरूले स्वास्थ्यमा गम्भीर असर पारेका छन्।
पहिला दमका बिरामीहरू छिटफुट रूपमा आउने गर्थे, तर अहिले गर्मी-चिसो दुवै मौसममा दम र श्वासप्रश्वासका समस्या लिएर बिरामीको चाप बढेको छ। यो समस्याको मुख्य कारण भनेको उद्योगबाट निस्कने सूक्ष्म धूलो र धुवाँ हो, जसले फोक्सोमा दीर्घ असर पार्दछ। यस्तो प्रदूषणले दम मात्र होइन, फोक्सोको क्यान्सर समेत निम्त्याउन सक्छ।
कोभिड संक्रमणले फोक्सोलाई पहिलेभन्दा कमजोर बनाएको कारण प्रदूषणको असर अझ बढी गम्भीर हुने गरेको चिकित्सकहरू बताउँछन्। कमजोर फोक्सोमा प्रदूषित हावाले छिटो असर गर्छ, जसले गर्दा मानिसहरू गम्भीर बिरामी बन्न थालेका छन्।
अस्पतालद्वारा आयोजित छालासम्बन्धी शिविरमा सहभागी बिरामीहरू प्रायः प्रदूषित नदीमा नुहाउने, लुगा धुने वा गाईवस्तु चराउने गरेको बताएका छन्। यस्ता पानीमा मिसिएको रसायनले छालाको एलर्जी, घाउ, र दीर्घकालीन रूपमा क्यान्सरसम्मको जोखिम बढाएको छ। विशेषगरी छाला उद्योग र सिसा, सिमेन्ट जस्ता उद्योगका रसायन अत्यन्त खतरनाक छन्।
उद्योग नजिक रहेका बालबालिकाहरू प्रदूषित पानी र हावाको सम्पर्कमा पुग्दा उनीहरूमा सुस्तता, छालाको समस्या, स्नायु प्रणालीमा असर, फोक्सोको रोग, पाचन प्रणालीसम्बन्धी समस्या, यहाँसम्म कि मस्तिष्कसम्बन्धी गम्भीर असरहरू देखा परिरहेका छन्। यस्ता असर परिपक्व मानिसहरूभन्दा बालबालिकामा १० गुणा बढी देखिन्छ।
अहिलेसम्म प्रदूषणको दीर्घ असरबारे विस्तृत अध्ययन वा अनुसन्धान नभएको भए पनि अस्पतालका चिकित्सकहरूको भनाइ अनुसार फोक्सो सम्बन्धी रोगीको संख्या डेढ गुणाले वृद्धि भएको छ। यो प्रवृत्ति बढ्दै गइरहेकाले निकट भविष्यमा स्थिति अझ गम्भीर हुने आँकलन गरिएको छ l
केन्द्रीय सरकारले उद्योगहरूलाई अनुमति दिने बेलामा वैज्ञानिक मापदण्डको कठोर परीक्षण गर्नुपर्ने हुन्छ। प्रदेश र स्थानीय सरकारहरूले पनि नियमन र अनुगमनमा कठोरता अपनाउनुपर्छ। यस्तै, उद्योगीहरूले पनि सामाजिक जिम्मेवारीका रुपमा मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने हुन्छ।
यदि नीति तथा नियमहरू कमजोर छन् भने संघीय सरकारले संशोधन गरेर अझै प्रभावकारी बनाउनु आवश्यक छ। स्वस्थ जीवनयापन नागरिकको मौलिक अधिकार हो — यो उद्योगको मुनाफाभन्दा पनि प्राथमिक हुनुपर्छ।
