पर्सा ट्राफिकको सडक अनुशासन अभियान, घण्टाघरमा श्रव्यदृश्य प्रदर्शन

पर्सा, वीरगन्ज — ट्राफिक नियम उल्लंघन र लापरवाहीका कारण हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले विशेष जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ। यस क्रममा कार्यालयले वीरगन्जको प्रमुख व्यस्त क्षेत्र घण्टाघर चोकमा श्रव्यदृश्य (अडियो-भिजुअल) माध्यममार्फत ट्राफिक सचेतनामूलक सामग्री प्रदर्शन गरेको हो।

उक्त कार्यक्रम अन्तर्गत सवारी साधन चलाउँदा अपनाउनु पर्ने सावधानी, मादक पदार्थ सेवन गरेर सवारी नचलाउनुपर्ने, ट्राफिक संकेत चिन्हहरूको सही प्रयोग तथा सडक अनुशासन सम्बन्धी विविध सन्देश सहितका भिडियोहरु सार्वजनिक स्थलमा देखाइएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार, यो कार्यक्रम कार्यालयको नियमित जनचेतनामूलक प्रयास अन्तर्गत गरिएको हो। “हामीले दैनिक रुपमा सडकमा कार्यरत रहँदा देखेका छौँ कि धेरै दुर्घटनाहरू जानकारीको अभाव वा लापरवाहीका कारण हुने गरेका छन्,” उनले भने, “त्यसैले सर्वसाधारणमा सही जानकारी पुर्‍याउन र सडक अनुशासनमा ध्यान दिन आग्रह गर्न हामीले यस्तो श्रव्यदृश्य प्रदर्शनको आयोजना गरेका हौँ।”

प्रहरी निरीक्षक भट्टले बताए अनुसार, यस्ता कार्यक्रमले विशेषगरी किशोर–किशोरी, मोटरसाइकल चालक, सार्वजनिक सवारी चालक, पैदल यात्री लगायत सबै सडक प्रयोगकर्तामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। कार्यक्रममा देखाइएको भिडियोले सडक दुर्घटनापछिको पीडादायक अवस्थालाई यथार्थपरक ढंगले चित्रण गरेर दर्शकमा प्रभाव पार्ने खालको सन्देश दिएको थियो।

यस किसिमको सचेतनामूलक कार्यक्रम आगामी दिनमा पर्सा जिल्लाको अन्य नगर तथा गाउँ क्षेत्रहरूमा समेत संचालन गरिने तयारीमा रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

Local News