कृष्णसेन स्मृति दिवसमा दुई पत्रकारलाई पुरस्कार, प्रेस सेन्टर पर्साको बैठकले गर्यो निर्णय

प्रेस सेन्टर नेपाल, पर्सा शाखाको एक विशेष बैठक आज बिरगंजस्थित नारायणी एफ.एम.को सभाहलमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता शाखा अध्यक्ष शिवनाथ यादवले गरेका थिए। बैठकमा संगठनका विभिन्न पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले आउँदो जेठ १२ गते (कृष्णसेन ‘इच्छुक’ को स्मृति दिवस) को अवसरमा विरगंजमै विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रममा पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने दुई पत्रकारलाई ‘कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार’ र ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ।

दुवै पुरस्कार एक विशेष कार्यक्रमका बीचमा वितरण गरिनेछ, जसमा प्रत्येक पुरस्कारको राशी नगद रु. २१,००० र सम्मानपत्र रहेको छ। पुरस्कारबाट पत्रकारितामा समर्पित तथा प्रभावशाली योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिनेछ। यसअघि, कृष्ण उदास खनाललाई ‘कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो भने राम मण्डलले ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थिए।

बैठकमा अर्को महत्वपूर्ण निर्णय स्वरूप, प्रेस सेन्टर नेपाल पर्सा शाखाले नेपाल पत्रकार महासंघमा केन्द्र, प्रदेश तथा जिल्ला तहमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई पनि विशेष सम्मान गर्ने कार्यक्रम गर्ने भएको छ। यसबाट संगठनभित्र सहकार्य, उत्साह र एकताको भावना थप सुदृढ हुने अपेक्षा गरिएको छ।

बैठकमा प्रेस सेन्टर नेपालका पर्सा शाखाका उपाध्यक्ष समिना रञ्जितकार, सचिव अजित कुमार भुजेल, सहसचिव विदुर गौतम, कोषाध्यक्ष संजित कुमार गुप्ता तथा कार्यसमिति सदस्यहरू रितेन्द्र झा (रितेश), सन्तोष कुमार कुशवाहा, दिपेन्द्र कुमार साह, बलिराम यादव, प्रणय साह लगायतको सक्रिय उपस्थिति रहेको थियो।

यसैगरी, कार्यक्रममा केन्द्रीय सदस्य सन्तोष पौडेल, सल्लाहकार गोबिन्द देवकोटा, मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, तथा सदस्य सब्दर हुसैनको विशेष उपस्थिति रहेकोले बैठक थप प्रभावशाली बनेको थियो।

बैठकले संगठनको आगामी कार्ययोजना, पत्रकार अधिकार, सशक्त संगठन निर्माण र जनताको पक्षमा रहने पत्रकारिताको पक्षमा एकता र प्रतिबद्धता जनाउँदै सम्पन्न भएको थियो।

ताजा अपडेट

Local News